३१ भाद्र २०८१, सोमबार

ताजा खबर

वराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

नागरिक पोष्ट

बिहीबार, १५ चैत्र २०८०

9028 views

9028 views

वराहक्षेत्रमा कुम्भमेला : तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

सुनसरी – सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरा धाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ ।

पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यस पटकको मेलामा ३० लाख पर्यटक आउने आकलन गरेर सोहीअनुरूप व्यवस्थापन थालिएको जनाएको छ ।

आयोजक समितिका सह अध्यक्ष तथा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले आन्तरिक तथा बाह्य पर्यटक गरी ३० लाख आउने अपेक्षा गरेर व्यवस्थापनका लागि विभिन्न २६ वटा उपसमिति गठन गरिएको बताए।
हरेक १२ वर्षमा लाग्ने पूर्णमहाकुम्भ मेलाका बेला धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर महादेवको दर्शन गर्न समितिले आग्रह गरेको छ । भारतका चार स्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासीक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामो समयदेखि कुम्भमेला आयोजना हुँदै आएको छ ।

वराहक्षेत्रमा भने २०५९ सालदेखि कुम्भमेला आयोजना हुन थालेको हो । यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ ।

सप्तकोशी नदी किनारमा अवस्थित वराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?