शुक्रबार, २५ फाल्गुन २०८०
7668 views
7668 views
११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ। विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ।
२०८० फाल्गुण २५ (८ मार्च २०२४)
१९०८ मार्च ८ को दिन अमेरिकाको न्यूयोर्क शहरमा समान अधिकार र पारिश्रमिक बृद्धिको माग राखेर महिलाहरूले विशाल जुलुस प्रदर्शन एवं आन्दोलन गरेका थिए । यस आन्दोलनको सफलता स्वरुप अमेरिकाले यस दिनलाई राष्ट्रिय महिला दिवस घोषणा गर्यो । महिला हक जत महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस बिश्व भरी मनाईने गरिएको छ । महिला मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तराष्ट्रिय श्रमिक महिला दिवस भब्यताका साथ बिभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइरहेका छौं ।
२०६५ कार्तिक १०–११ गते काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय ट्रेड युनियन सम्मेलनबाट विधिवत रुपमा गठन भएको संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) विगत १५ वर्षदेखि श्रमिकका हक अधिकार सुनिश्चितताको लक्ष्यमा निरन्तर अगाडि बढीरहेको छ । हाम्रो एकिकृत भूमिका कै फल स्वरुप नेपालको संविधान, २०७२ मा मौलिक हकको रुपमा ट्रेड युनियन अधिकार स्थापित गर्न, श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ पारित गर्न, एवं न्युनतम पारिश्रमिक निर्धारणमा महत्वपूर्ण उपलव्धिहरु हाँसिल गर्न सकेका छौँ । स्थापनाकालदेखी नै जेटियुसीसी महिला समितिले संविधान, श्रम ऐन लगायतका श्रम सरोकारित ऐनहरुमा महिलाका सवालहरु स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यस अवसरमा सम्पूर्ण अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छौं ।
नेपालको संविधान, २०७२, श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र महिला मैत्री बिभिन्न कानूनहरुले महिला अधिकार सुनिश्चित गरेता पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । हाल बिश्व मै जटिल परिस्थितिहरु उदयमान छन्, जसले श्रम संसारमा नकारात्मक प्रभाव पारिरहेको छ । कामको प्रकृति परिवर्तन, रोजगारीको अनौपचारिकीकरण, स्वचालन र एआई जस्ता नयाँ प्रविधिहरूको उदयसंगै रोजगारीको असुरक्षा, पारिश्रमिक कटौती, लैंगिक असमानता लगायतका चुनौतीहरु श्रम बजारमा थपिदैछन् । यस सन्दर्भमा हामिले प्रभावकारी आवाज उठाउनु आवश्यक भएको छ ।
नेपालमा ८० प्रतिशत भन्दा बढी अनौपचारिक रोजगारीको क्षेत्र रहेको र त्यसमा पनि महिला श्रमिकहरुको बाहुल्यता रहेको छ । उनीहरु कुनैपनि ठाउमा शुचिकरण बिना काम गर्न वाध्यछन्, समान कामको समान ज्यालाबाट बन्चित छन्, न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको छैन, लैंगिक बिभेद र दुब्र्यबहारबाट पिडित छन्, न्यूनतम श्रम अधिकार र सामाजिक सुरक्षा बाट बञ्चित छन् । साथै, बिश्व मै जलवायु परिवर्तनले श्रम क्षेत्रहरुमा प्रत्यक्ष प्रभाव परिरहेको छ । यसवाट नेपालका श्रमिकहरुको रोजगारी कटौति भएको छ, श्रमिकहरु प्रत्यक्ष मारमा परेका छन् । श्रमिकहरुमा पनि पहिलो प्रभाव महिलाहरुमा पर्ने हुँदा, जलवायु परिवर्तनले विद्यमान लैंगिक विभेदलाई बढाएको र महिलाहरुको रोजगारी, जीवनयापन, स्वास्थ्य तथा सुरक्षामा समेत खतरा पैदा गरेको छ ।
मर्यादित र समून्नत समाजको निर्माणका लागि महिलाहरुको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले महिलाको शिक्षा, स्वास्थ्य, रोजगारी र शसक्तिकरणमा लगानी बृद्धि गर्दै नेतृत्व तहमा महिलाको समान सहभागिता आजको आवश्यकता हो । जेटियुसीसीले महिला, पुरुष र अन्य लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको सम्मानजनक प्रतिनिधित्व तथा श्रोत र साधनमा समान पहुँचको सुनिश्चितता गर्न लैंगिक नीति पारित गरेको छ । सो नीतिको प्रभावकारी कार्यान्वयन, अन्तराष्ट्रिय श्रम संगठनको अभिसन्धि १९० अनुमोदन एवं श्रम सरोकारित ऐन नियम श्रमिक महिला मैत्री बनाउन परिमार्जन एवं कार्यान्वयन आवश्यक रहेको छ । श्रोत र साधनमा पहुँच बृद्धि गर्न, अध्ययन, सूचना र सीप विकास तालिम आदिका माध्यमबाट समावेशी र संख्यात्मक सहभागिताका साथै गुणात्मक विकासका लागि सरकार र सरोकारवालाहरुले लैंगिक बजेट निर्माण गरी कार्यान्वयनमा ल्याउनु पर्दछ ।
यस सन्दर्भमा, “महिलामा लगानीः मर्यादित र सुमन्नत समाजको थालनी” को नारालाई आत्मसाथ गर्दै हाम्रा आगामी गतिविधिहरुलाई केन्द्रित गर्ने प्रतिवद्धता ब्यक्त गर्दछौं । साथै रोजगारदाता, सरकार र सरोकारवालाहरुलाई यस प्रेस वक्तब्यमार्फत महिलाहरुमा यथेष्ठ लगानी गरी मर्यादित र समून्नत समाज र दिगो बिकासको लक्ष्यका लागि सहकार्य गर्न आह्वान गर्दछौं ।