७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नयाँ मन्त्रीले लिए सपथ, अन्तिम समयमा समाजवादी पनि समेटिँदा भयो ढिला

नागरिक पोष्ट

बुधबार, २३ फाल्गुन २०८०

5220 views

5220 views

नयाँ मन्त्रीले लिए सपथ, अन्तिम समयमा समाजवादी पनि समेटिँदा भयो ढिला

काठमाडौं ।  आज मन्त्रिपरिषदमा थपिएका १६ जना मन्त्रीहरुले सथप ग्रहण गरेका छन् । आजै ५ बजे सपथ ग्रहण तय भएपनि नेकपा एकीकृत समाजवादीले ढिला गरी सरकारमा सहभागी हुने निर्णय गरेपछि सपथ ग्रहण समारोह पनि अबेर भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष १६ जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्रपति पौडेलले तीन जना उपप्रधानमन्त्रीलाई बेग्लै र बाँकी १३ जना मन्त्रीहरुलाई बेग्लै सपथ गराएका छन् ।


सपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो ।

नयाँ मन्त्रिपरिषदमा नेकपा एमालेले राजेन्द्रकुमार राईलाई खानेपानीमन्त्री, पदम गिरीलाई कानुनमन्त्री, भगवती चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी दिएको छ ।


त्यसैगरी, बलराम अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेले दामोदर भण्डारीलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र हरि उप्रेतीलाई रक्षा मन्त्रालयको जिम्मा दिएको छ भने ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छिन् । एमालेले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री बनाएको छ । यसअघि एमालेबाट मन्त्री भएका पदम गिरीलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यता नेकपा माओवादी केन्द्रले भने नारायणकाजी श्रेष्ठलाई पराराष्ट्रमन्त्री बनाएको छ भने वर्षमान पुनलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएको छ । रेखा शर्मा सञ्चार र शक्ति बस्नेत ऊर्जामन्त्री भएका छन् । माओवादीले यसअघि सपथ ग्रहण गरिसकेका हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति लामिछाने गृहमन्त्री, उपसभापति डीपी अर्याल श्रममन्त्री, खेलकुदमन्त्रीमा विराजभक्त श्रेष्ठ र सहमहामन्त्री सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय पठाएको छ ।

ढिलो गरी सरकारमा सहभागी भएको नेकपा एकीकृत समाजवादीले भने भानुभक्त जोशीलाई संघीय मामिला र धनबहादुर बुढालाई शहरी विकासमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यसअघि चारदलीय गठबन्धनको सहमतिपत्रमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टी जसपा नेपालले भने आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे कुनै निर्णय लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?