७ कार्तिक २०८१, बुधबार

ताजा खबर

१२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८०’ आयोजना हुने

नागरिक पोष्ट

बिहीबार, १० फाल्गुन २०८०

5815 views

5815 views

१२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८०’ आयोजना हुने

काठमाडौँ । १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारा सहित एभरेस्ट नेपाल कल्चरल ग्रुपले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेलाबारे जानकारी दिएको हो ।

मेलाको काठमाडौँमा भने फाल्गुण १९ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन हुनेछ । फाल्गुन १८ गतेदेखि २७ गतेसम्म चल्ने मेला काठमाडौँ, दाङ, पोखरा र ललितपुरमा आयोजना हुन आयोजक संस्था एभरेस्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताउनुभयो ।


‘ऐतिहासिक तथा विश्व सम्पदा सूचीमा आबद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरुको संरक्षण र संवर्द्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौ’ कोइरालाले भने ‘यसबाट देशको विविध सांस्कृतिक, पुरातात्त्विक र अन्य पर्यटकीय स्थलको मात्र नभई नेपालकै विश्वसामु प्रचार–प्रसार हुने आशा छ ।’ 

मेलामा अस्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्यान्ड, साउथ अफ्रिका, र नेपाल लगायत राष्ट्रका विभिन्न सांस्कृतिक समूहका ३५० भन्दा बढी कलाकारहरूले भाग लिनेछन् ।

नेपाल जस्तो बहुजातिय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र संस्कृतिहरू रहँदै आएको सर्व विदितै छ । नेपाली संस्कृति प्रति स्वदेशी भन्दा विदेशी बढी आकर्षित हुनु पर्यटन प्रवर्द्धनका दृष्टिकोणले राम्रै मान्न सकिन्छ । आफ्नो पहिचान र मौलिकता बोकेका संस्कृति प्रति स्वयं नेपाली उदासीन हुनु दुःख लाग्दो पक्ष हो । वर्तमान युवा पिँढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको युवा पिँढीलाई पनि यस तर्फ आकर्षित गर्न यस्तो मेला महत्त्वपूर्ण हुने आयोजकको भनाई रहेको छ ।

मेला २०५८ देखि प्रत्येक २ वर्षमा नियमित आयोजना हुँदै आएको छ । सुरुवातदेखि एघारौँ संस्करणसम्म मेलामा करिब ८५ भन्दा बढी देशका ८५०० भन्दा बढी कलाकारहरूले घर आँगनमा आ–आफ्नो देशको मौलिकता झल्कने झाँकी सहित विविध लोकसंस्कृति कार्यक्रम प्रस्तुत गरिसकेको आयोजकको दाबी रहेको छ ।

नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको आफ्नो अभियानलाई निरन्तरता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु यस मेलाको प्रमुख उद्देश्य रहेको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?