७ कार्तिक २०८१, बुधबार

ताजा खबर

मिटरब्याजपीडितले सिंहदरवार मार्च पास गर्ने

नागरिक पोष्ट

बिहीबार, १० फाल्गुन २०८०

6308 views

6308 views

मिटरब्याजपीडितले सिंहदरवार मार्च पास गर्ने

काठमाडौँ । न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडितहरू बुधबार काठमाडौँ आइपुगेका छन् ।

मिटर ब्याजी साहूको पासोबाट छुटकारा पाउन माग गर्दै २३ दिनको पैदल यात्रापछि बुधबार साँझ थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् । माघ १६ मा यात्रा थालेयता निरन्तर सडकमै गाँसबास गरेर आएका उनीहरूले बुधबार राति त्रिभुवन पार्कमा चिसो भुँइमा रात कटाए ।
उनीहरूले आज बिहीबार सिंहदरवार मार्च गर्दैछन् । सरकारलाई झकझक्याउन र न्यायका लागि दबाब दिन थानकोटदेखि सिंहदरवारसम्म पैदलमार्च गर्ने कार्यक्रम रहेको मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका प्रवक्ता नीर्ग नवीनले बताए ।
उनले तराईका २० जिल्ला र भित्री मधेशका आठ गरी २८ जिल्लाका पीडितहरूले यसपटक एकसाथ देशव्यापी पैदलमार्च गरेको बताए । उनीहरूले ६ प्रदेशका २३ जिल्ला पार गरेर काठमाडौं आइपुगेका हुन् ।
समितिले मिटरब्याजपीडित किसान, मजदुर, साना व्यवसायी र सबै खाले वित्तीय शोषणबाट उत्पीडितहरूको न्यायका लागि संस्थागत र व्यक्तिगत प्रतिनिधित्वसहित मिटरब्याजपीडितविरुद्धको न्याय मार्चलाई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ ।
सरकारले यसअघि मिटर ब्याजपीडितका समस्या सम्बोधन गर्न जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले पाँच हजार पीडितका समस्या सुल्झाएपनि बाँकीका समस्याको जानकारी मात्रै बटुलेर सरकारलाई प्रतिवेदन बुझाएको छ । तर सरकारले सो प्रतिवेदनमाथि कुनै कारबाही अघि बढाएको छैन । सम्झौताबमोजिम सरकारले कुनै काम पहल नगरेपछि आफूहरू फेरि संघर्षमा उत्रिनु परेको समितिका अध्यक्ष अवधेशकुमार कुशवाहाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?