७ कार्तिक २०८१, बुधबार

ताजा खबर

डाउन सिण्ड्रोम अपाङ्गता सम्बन्धी जनचेतना मूलक कार्यक्रम ललितपुरमा

नागरिक पोष्ट

सोमबार, ७ फाल्गुन २०८०

16049 views

16049 views

डाउन सिण्ड्रोम अपाङ्गता सम्बन्धी जनचेतना मूलक कार्यक्रम ललितपुरमा

-शर्मिला विश्वकर्मा

७ फागुन २०८०,  ललितपुर डाउन सिण्ड्रोम अवस्था बौद्धिक अपाङ्गता भित्रको एक अवस्था हो । समाजमा अझै पनि पूर्ण रूपले डाउन सिण्ड्रोम अपाङ्गताको विषयमा चेतना जाग्न सकेको छैन। त्यसैले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकार सुनिश्चित गर्नका लागि डाउन सिण्ड्रोम समाज नेपालले काम गर्दै आएको छ । यसै क्रममा यस संस्थाका विभिन्न वार्षिक कार्यक्रमहरू मध्ये जनचेतनाका लागि विश्व डाउन सिण्ड्रोम दिवस हरेक वर्षको मार्च २१ तारिका दिन मनाउने गरिन्छ । यसै सन्दर्भमा यस वर्ष २०२४ को विश्व डाउन सिण्ड्रोम दिवसको शुभारम्भमा यही फागुन ६ गते डाउन सिण्ड्रोम समाज नेपालले डाउन सिण्ड्रोम अवस्थाका विषयमा सार्वजनिक स्थानमा जनचेतना जगाउने उद्देश्यले ललितपुरको लाविम मलमा फ्यास मोब Flash Mob कार्यक्रमको आयोजना गरेको छ ।

डाउन सिण्ड्रोम अपाङ्गताको विषयमा जनचेतना जगाउने, डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको क्षमता, प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले धेरै मानिसहरूको आवत जावत हुने सार्वजनिक स्थान लाविम मलमा यो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले जानकारी गराउनु भयो । साथै उहाँले डाउन सिण्ड्रोमा अपाङ्गता भएका बालबालिकाहरूलाई घर परिवार र समाजले सहयोग गर्दै अवसर प्रदान गर्ने हो भने उनीहरूले आफूमा भएको प्रतिभाहरू प्रस्तुत गर्न सक्नुका साथै जीवन यापनका लागि रोजगारीमा पनि आबद्ध हुने र केही यस्ता बालबालिकाहरूले विभिन्न क्याफेहरूमा रोजगार पनि पाएको बताउनु भयो । विश्व डाउन सिण्ड्रोम दिवस २०२४ को शुभारम्भमा डाउन सिण्ड्रोम समाज नेपालद्वारा सञ्चालित सत्यम् दिवा सेवा केन्द्रमा पढ्ने डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरूले ललितपुरको लाविम मलमा नेपाली, हिन्दी र अंग्रेजी गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए ।

सो मलमा आउनु भएका व्यक्तिहरूले उत्साह पूर्वक उनीहरूको नृत्य हेर्नु भयो भने उहाँहरूलाई जानकारी गराउन अपाङ्गता भनेको के हो, डाउन सिण्ड्रोमको बारेमा कत्तिको जानकारी छ, यस विषयमा जानकारी नपाउनुको कारण के हो लगायतका प्रश्नहरू सोध्दै यस कार्यक्रममा सहभागी हुने व्यक्तिहरूलाई डाउन सिण्ड्रोम अपाङ्गता सम्बन्धी जानकारी मूलक सामाग्रीहरू पुरस्कार स्वरूप प्रदान गरियो । यस फ्ल्यास मोब Flash Mob मा ललितपुर निवासी ४५ वर्ष उमेरकी डाउन सिण्ड्रोम अपाङ्गता भएकी महिला रिता दुवाल जसले कुमारी नृत्य गर्नु हुन्छ उहाँले मादल बजाउँदै गीत गाएर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

जनचेतना मूलक यस कार्यक्रम सत्यम् थापा, सृजना राई लगायतका डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरूले नृत्य प्रस्तुत गरेको देखेर त्यस मलमा चलचित्र हेर्न आउनु भएको विनोद दुवालले यस कार्यक्रमका लागि केही आर्थिक सहयोग गर्नु भयो भने आगामी दिनमा पनि यस्ता बालबालिकाहरूको अधिकार सुनिश्चितका लागि, उनीहरूको शिक्षा, स्वास्थ्य तथा प्रतिभा प्रस्फुटनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?