७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपाल अपाङ्ग महिला संघको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

नागरिक पोष्ट

शनिबार, ५ फाल्गुन २०८०

7668 views

7668 views

नेपाल अपाङ्ग महिला संघको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

- शर्मिला विश्वकर्मा

 काठमाडौँ । नेपाल अपाङ्ग महिला संघ नेपालले देशै भरी छरिएर रहेका विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको हक, हित र अधिकारका लागि काम गर्दै आएको छ । विभिन्न हिंसा, विभेदमा परेका अपाङ्गता भएका महिलाहरूका विभिन्न सवालहरूमा काम गर्ने क्रममा देशै भरी सञ्चालन गरिएको आर्थिक वर्ष २०७९ /८० का कार्यक्रमका विषयमा हिजो माघ २९ गते मङ्गलवारका दिन काठमाडौँमा सामाजिक लेखा परीक्षण २०८० कार्यक्रम सम्पन्न गरिएको छ । सी.वि.एम. र वेमेन काइण्ड वल्ड वाइडको साझेदारीमा नेपाल अपाङ्ग महिला संघले आयोजना गरेका सामाजिक लेखा परीक्षण कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष टिका दाहालले अपाङ्गता भएका व्यक्ति, अभिभावक, यस क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरूको साथ र सहयोगले गर्दा विभिन्न हिंसा, अन्याय, विभेदमा परेका, न्याय नपाएका, आर्थिक अवस्था कमजोर भएका लगायतका अपाङ्गता भएका महिलाहरूको जीवन सहज बनाउन, उनीहरूलाई न्याय दिन, उनीहरूको हक हित र अधिकार सुनिश्चित गर्न, आय-आर्जन गरी समाजमा नै पुनर्स्थापना गराउने लगायतका कामहरू गर्दै आएको बताउनु भयो । साथै उहाँले राज्यले अपाङ्गता भएका व्यक्तिहरूलाई विकासका कार्यमा उपयोग गर्नु पर्ने र राज्य र समाजले अपाङ्गतालाई अझै पनि बुझ्न नसकेको गुनासो गर्नु भयो ।

यस कार्यक्रममा आयोजक संस्था नेपाल अपाङ्ग महिला संघकी महासचिव देवकुमारी पराजुलीले अपाङ्गता भएका महिलाहरूका लागि संस्था स्थापना गर्नुको उद्देश्य, कार्यक्रमहरू कार्यान्वयन, संस्थाको रणनीति र विधिका बारेमा प्रस्ट पार्दै संस्था मार्फत अपाङ्गता भएका महिलाहरू, बालबालिकहरुको समावेशी शिक्षा, आर्थिक सशक्तीकरण, जीविकोपार्जनका लगायतका कार्यक्रमहरू सञ्चालन गरिएको पनि बताउनु भयो । साथै उहाँले यस नेपाल अपाङ्ग महिला संघले अहिले सम्म ३७ वटा जिल्लाहरूमा प्रत्यक्ष रूपमा काम गरेको भन्दै संस्था मार्फत अपाङ्गता भएका महिलाहरूका सवालमा जनचेतना सम्बन्धी विभिन्न सामाग्रीहरू निर्माण गरी विभिन्न सञ्चार माध्यमहरू मार्फत प्रकाशन तथा प्रसारण गर्दै आएको भन्दै यस वर्ष हिंसा प्रभावित ८ जना अपाङ्गता भएका महिलाहरूलाई कानुनी सहायता प्रदान गरिएको पनि जानकारी गराउनु भयो । त्यसै गरी यस कार्यक्रमका सहजकर्ता लुभराज अधिकारीले सामाजिक लेखा परीक्षण, संस्थागत लेखाजोखाका विषयमा प्रस्तुतीकरण गर्दै कुनै पनि संघ संस्थाले गरेका कामको प्रभावकारिताको मूल्याङ्कन गर्नु नै सामाजिक लेखा परीक्षण हो भन्दै संस्थाले अवलम्बन गरेका बाल संरक्षण नीति, आचार संहिता, आर्थिक कार्य विधि, नियमावली लगायतका बारेमा पनि प्रस्ट पार्नु भयो ।

यसै क्रममा साझेदारी संस्था सी.वि.एम.का कार्यक्रम अधिकृत विमल पौडेलले नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका पीडित महिलाहरूको लागि ज्यादै प्रभावकारी कामहरू गरेको भन्दै अबका दिनमा वकालतका विधिहरूलाई अझै प्रभावकारी बनाउनु पर्ने, तथ्याङ्क विवरणको कार्यलाई प्राथमिकता दिनु पर्ने, २५ वर्ष देखि यस अपाङ्गता क्षेत्रमा काम गर्ने व्यक्तिहरूका अनुभवलाई पनि समावेश गर्न आग्रह गर्दै यस संस्थाको सहकार्यलाई दिगो रूपमा टिकाउनको लागि सम्बन्धित साझेदारीको पहिचान गर्न आवश्यक रहेको बताउनु भयो । नेपाल अपाङ्ग महिला संघले आयोजना गरेको सामाजिक लेखा परीक्षण कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाकी महिला तथा बालबालिका निरीक्षक सरिता भट्टराईले अपाङ्गता परिचय पत्र वितरणका क्रममा आउने समस्याहरूको समाधानका लागि नीति नियमलाई फराकिलो बनाउन पहल गर्नु पर्ने, यस नगरपालिकालाई पनि नेपाल अपाङ्ग महिला संघले सहकार्य गरेर काम गर्ने अवसर दिनु भएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अपाङ्गता भएका महिलाहरूका सवाललाई संवोधन गर्ने क्रममा, उनीहरूका लागि काम गर्ने क्रममा नगरपालिका र व्यक्तिगत रूपमा पनि आवश्यक सहयोग गर्ने बताउनु भयो ।

त्यसै गरी अधिवक्ता तथा समावेशी समाधान नामक संस्थाका अध्यक्ष मुकुन्दहरि दाहालले अबका दिनमा यस संस्थाले गर्ने कार्यमा स्ववकालतका कार्यलाई अझै थप गर्नु पर्ने, अपाङ्गता भएका महिलाका अभिभावकहरूलाई प्राथमिकता दिनु पर्ने, हेरचाह तथा व्यक्तिगत सहयोगी, परिवार सहायता कार्यक्रमहरू पिन सञ्चालन गर्न सुझाव दिनु भयो । यस कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी महासचिव सृजना के.सी.ले सर्वोच्च अदालतले फैसला गरेको व्यक्तिगत सहयोगीको नीतिलाई कार्यान्वयन गर्न नेपाल अपाङ्ग महिला संघले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने भन्दै बौद्धिक अपाङ्गता भएका महिलाहरूको पहिचान गरी उनीहरूका लागि पनि कार्यक्रम सञ्चालन गर्नुका साथै सम्बन्धी हरेक स्थानीय तहका महिला विकास अधिकृतहरूलाई अपाङ्गतालाई बुझ्न सक्ने गरी क्षमता अभिवृद्धि गराउने तालिम पनि प्रदान गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?