७ कार्तिक २०८१, बुधबार

ताजा खबर

पुष्प मेलामा अवलोकनकर्ता र ग्राहकको आकर्षण बढ्दो

नागरिक पोष्ट

सोमबार, २० कार्तिक २०८०

4012 views

4012 views

गण्डकी ।  पोखरामा जारी ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला-२०८०’ मा अवलोकनकर्ता र ग्राहकको आकर्षण बढेको छ । फ्लोरीकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति कास्कीद्वारा आयोजित प्रदर्शनीको आइतबारसम्ममा १५ हजार बढीले अवलोकन गरेको जनाइएको छ । 

शुक्रबारदेखि सुरु भएको प्रदर्शनी अवलोकनसँगै अहिलेको याममा फूल्ने सयपत्री, गोदवारीलगायत फूल र बिरुवाको किनबेच पनि भइरहेको एसोसिएसनका अध्यक्ष डिलबहादुर गुरुङले बताएका छन् । ‘पुष्प मेलाप्रति आकर्षण बढ्दै गएको छ, नयाँ-नयाँ प्रजातिका फूल एकै ठाउँमा भएकाले पनि ग्राहकलाई सहज भएको छ’, उनले भने । 

पोखरा रङ्गशालामा सञ्चालन भइरहेको पुष्प मेलामा फूलका २०, कृषिका तीन र सूचनामूलक एक गरी २४ प्रदर्शनीकक्ष छन् ।  पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको एसोसिएसनका अध्यक्ष गुरुङले बताएका छन् ।

‘मुख्यरुपमा गोदावरी फूललाई केन्द्रित गरेर प्रदर्शनी राखिएको भए पनि सयपत्रीलगायत अन्य विभिन्न प्रजातिका फूल तथा बिरुवा बिक्री वितरणका लागि मेलामा राखिएको छ’, उनले भने, ‘आजसम्म २० हजार बढीले पुष्प प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा लिइएको छ ।’

पुष्प व्यवसायी बलराम श्रेष्ठले तिहारको याम भएकाले सयपत्री र गोदावरी फूल ग्राहकको रोजाइमा परेको बताए। ‘कोही फूल किन्न आइरहनुभएको छ, कोही फूल खेती सम्बन्धी जानकारी लिएर पनि जानहुन्छ’, उनले भने , ‘दिनैभरि प्रदर्शनीस्थलमा फूलप्रेमी चहलपहल हुने गरेको छ ।’

‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्द्धनमा गोदावरीको सान’ भन्ने आदर्श वाक्यसहित उक्त मेलाको आयोजना गरिएको हो । मेलाबाट पुष्प व्यवसाय गर्न चाहाने किसान तथा फूलप्रति अभिरुचि राख्ने ग्राहकले प्रत्यक्ष लाभ लिइरहेको आयोजकको भनाइ छ ।

फूल खेती र एसोसिएसनले गर्दै आएका गतिविधिबारे पनि प्रदर्शनीस्थलमा जानकारी दिने गरिएको छ । पुष्प व्यवसायीहरुका अनुसार पछिल्लो समयमा पोखरामा फूल खेतीप्रति आकर्षण बढ्दो छ । नर्सरीबाट बिरुवा लगेर गाउँगाउँमा फूल उत्पादन गर्ने किसान पनि उत्तिकै रहेको व्यवसायी श्रेष्ठले बताएका छन् । 

एसोसिएसनका अनुसार पोखरालाई चाहिने ८० प्रतिशतभन्दा बढी फूल यही उत्पादन हुन्छ । पन्ध्रदेखि २० प्रतिशत मात्र बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायी बताउँछन् । तिहारका बेला भने माग धान्न नसकिने भएकाले भारतबाट फूल आयात गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । 

गण्डकी प्रदेशमा ४८ जना नर्सरी सञ्चालन गर्ने पुष्प व्यवसायी रहेको एसोसिएसनले जनाएको छ । नर्सरीबाट बिरुवा लगेर फूल उत्पादन गर्ने किसानको सङ्ख्या भने धेरै छ । उन्नत बीउबिजन, अनुदान र आधुनिक खेती प्रविधिले पुष्प व्यवसायमा किसानको आकर्षण बढ्दै गएको जनाइएको छ । 

यस वर्ष पोखरा महानगरपालिकाको सहयोगमा थप एक सय ६५ रोपनी क्षेत्रफलमा सयपत्री र मखमली फूल खेती विस्तार भएको जनाइएको छ । पोखरासहित कास्कीका अन्य स्थानीय तहले पनि फूल खेती गर्ने किसानलाई अनुदान र प्रविधि सहयोग गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?