७ कार्तिक २०८१, बुधबार

ताजा खबर

आसमान नेपालले बाल श्रमिकको अनुभव सङ्कलनका लागि विभिन्न संस्थाहरूसँग सहकार्य गर्दे

नागरिक पोष्ट

बुधबार, १ कार्तिक २०८०

4163 views

4163 views

काठमाडौँ । विज्ञको सुनुवाई परियोजना अन्तरगत नेपाल र पाकिस्तानका बालश्रमको क्षेत्रमा संलग्न बालबालिकाको अनुभव र विचार सङ्कलन गर्ने कार्य भइरहेको छ । आसमान नेपालले बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूसँग सहकार्य गरी नेपाली बाल श्रमिकको अनुभव सङ्कलनका लागि नेतृत्व गरिरहेको छ ।  यहि सन्दर्भमा आसमान नेपालद्वारा   राजधानीमा आयोजित कार्यक्रममा बाल अधिकार अभियन्ता एवं राष्ट्रिय बालअधिकार परिषदका पूर्व निर्देशक मिलन धरेलले यस परियोजनामा बालबालिकाले व्यक्त गरेका विचार र अनुभवबारे चर्चा गर्नुभएको हो ।

उहाँले नेपाली र पाकिस्तानी बालबालिकाको अनुभवमा बालश्रममा आउनुको मुख्य कारण बुवा, आमा, भाइवहिनीलगायत परिवारको जिम्मेवारी उठाउनु हो भन्ने साझा धारणा व्यक्त गरेको पाइनुले बालबालिकाले परिवारको जिम्मेवारीबोध गरेको बताउनुभयो । विशेष गरी गरिबीका कारण बालबालिकाले काम  गर्नुपरेको भनेर बहस भए पनि उहाँहरूले गरिबीबारे खासै चर्चा नगरी मैले मेरो परिवारलाई काम गरेर सहयोग गर्नुपर्छ भन्ने मान्यता राखेको पाईयो,उहाँले भन्नुभयो ।  बाल अधिकारकर्मी धरेलले यस अध्ययनमा नेपालका ३६४ जना र पाकिस्तानका ४०२ जना बालबालिका संलग्न रहेको र विभिन्न चरणमा कार्यशालाको आयोजना गर्ने र चिठ्ठी लेख्ने, चित्र बनाउनेलगायतका प्रयोगात्मक अभ्यास गरेर बालश्रममा आउनुको कारण खोजिएको बताउनुभयो । उहाँले विश्वव्यापी रूपमै बालश्रम व्याप्त रहेकोमा सो परियोजना अन्तरगत नेपाल र पाकिस्तानका बालश्रममा संलग्न बालबालिकाको विचार लिने क्रममा बालबालिकाले सबै काम जोखिम र गाह्रो नमानेको, परिवारको सहयोगका लागि पढ्दै कमाउँदै गर्न पाउनुपर्छ भन्ने विचार राखेको सर्वेक्षणले देखाएको बताउनुभयो । आसमान नेपालका कार्यक्रम व्यवस्थापक मणिराम आचार्यले सन् २०२१ देखि सन् २०२४ सम्म सञ्चालन गरिने यस परियोजनामा संलग्न  बालबालिकाले हालसम्म व्यक्त गरेका धारणा÷विचारलाई बालअधिकारकर्मी मिलन धरेललाई अध्ययन र संक्षिपीकरणको जिम्मेवारी दिइएको बताउनुभयो ।  उहाँले यस परियोजनामा विज्ञको रूपमा वयस्क वा अन्यलाई नियुक्त नगरी बालश्रमिकसँगै रहेर यस क्षेत्रमा संलग्न हुनुको वास्तविक कारण खोज्ने र समस्या र समाधानका लागि विचार, धारणा लिने र भावना बुझ्ने अभ्यास गरिएको बताउनुभयो ।      आसमान नेपालका परियोजना संयोजक दीपेन्द्र तिवारीले बालश्रमले पार्ने नकारात्मक असर र बालश्रम न्युनिकरणका लागि नीतिगत सुधारका लागि बालश्रमिककै विचार र धारणा सङ्कलन गर्ने क्रममा बालश्रमिकलाई नै विज्ञको रूपमा प्रस्तुत गरिएको बताउनुभयो ।   नेपाल ट्रेड युनियन (जिफन्ट)का  सचिव बेनुमाया घलेले यस परियोजनाको निचोडले बालश्रम निषेध नगरी नयाँ सिरा÷दृष्टिबाट हेर्नुपर्ने सन्देश मिलेको बताउनुभयो । उहाँले बालश्रमिक वयस्क हुँदा पनि श्रम शोषणमा परेका छ कि छैन भनेर अनुगमन पनि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।  प्राकृतिक विपत्, परिवारको विखण्डन, गरिबीलगायतका कारण बालबालिकाहरू घरेलु श्रम, ग्यारेज, इट्टाभट्टा, पत्रिका बेच्ने,  सडक छेउमा खानेकुरा,फूल, बेलुन, पानी,कलम बेच्ने काममा संलग्न हुन पुग्ने गरेका छन् ।    सो अवसरमा यस परियोजनामा संलग्न बालबालिका र सरोकारवाला संस्थाका प्रतिनिधीले बालश्रमको क्षेत्रमा गर्नुपर्ने नीतिगत सुधारका लागि सुझाव दिनुभएको थियो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?