७ कार्तिक २०८१, बुधबार

ताजा खबर

गाजापट्टीस्थित एक अस्पतालमा हवाइ आक्रमण, पाँचसय जना मारिए

नागरिक पोष्ट

बुधबार, १ कार्तिक २०८०

4547 views

4547 views

काठमाडौँ । गाजापट्टीमा भएको हवाइ हमलामा पाँचसय जना मारिएका छन् ।  गाजापट्टीको अल अहली ब्याप्टिस्ट अरब अस्पतालमा भएको हवाई हमलामा पाँच सयजना मारिएका हुन् । हवाइ हमलापछि अस्पताल भग्नावशेषमा परिणत भएको छ । भग्नावशेषमा सयौँ मानिस च्यापिएको अनुमान गरिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयकाअनुसार अस्पतालमा भएको हमलामा मारिनेमा धेरै महिला र बालबालिका छन्। संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण भएको बताइएको छ ।

हमासको स्वास्थ्य मन्त्रालयले इजरायली डिफेन्स फोर्सले आक्रमण गरेको जनाएको छ । इजरायलले भने आफूहरूले अस्पतालमा आक्रमण नगरेको दावी गर्दै प्यालेस्टाइनकै अर्को कट्टरपन्थी समुह प्यालेस्टाइनी इस्लामिक जिहादले रकेट प्रहार गरेर अस्पताल ध्वस्त पारेको दावी गरिरहेको छ । तर इजरायली दावीलाई प्यालेस्टाईन र अरब देशहरूले झुटको संज्ञा दिएका छन् ।

इजरायली सेनाले अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको बम विष्फोटको पछाडि इस्लामिक जिहादको हात रहेको प्रमाणित गर्न भिडियो फुटेज जारी गर्ने दाबी गरेको छ।

इजरायलले गाजापट्टीको उत्तरी भेग खाली गर्न आदेश दिएको केही दिनमै अस्पतालमा भीषण हमला भएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो घटनालाई आतङ्कवादी हमलाको संज्ञा दिँदै इजरायली बालबालिकाको हत्या गरेको हमासले आफ्ना बालबालिकाको पनि अनाहकमा ज्यान लिएको प्रतिक्रिया दिए ।

प्यालेस्टाइनका नेता महमुद अब्बासले भने इजरायली बर्बरताको सिमा नाघेको प्रतिक्रिया दिएका छन् । 

यसैबीच विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०का महानिर्देशक टेड्रोस अधानोम गेब्रेसियसले अस्पतालमा भएको रकेट हमलाको भत्सर्ना गर्दै नागरिकको स्वास्थ्य सुरक्षाको रक्षा गर्न माग गरेका छन् ।

इजरायल र हमास बीचको पछिल्लो युद्ध १२औँ दिनमा प्रवेश गरेको छ । यो अवधिमा दुवै पक्षले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन् । 

गाजाको अस्पतालमा भएको बम विस्फोटका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको संख्या चिन्ताजनक रूपमा बढेको छ । जसका कारण गाजापट्टीमा कुल ३५०० जनाको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?