६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

लगानी बोर्ड नेपालको १२औं वार्षिकोत्सव सम्पन्न, १२ खर्ब ५० अर्ब लगानी स्वीकृत

नागरिक पोष्ट

शनिबार, १३ आश्विन २०८०

6431 views

6431 views

काठमाडौं  । लगानी बोर्ड नेपालको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोह सम्पन्न भएको छ । उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल मुलुकमा रोजगारी र उत्पादन वृद्धि गर्दै उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिमार्फत् समावेशी र उत्थानशील विकासको आधार सिर्जना गर्न विदेशी लगानी समेत निजी लगानीको अपरिहार्यता रहेको उल्लेख गरे ।

लगानीको वातावरण सुधार गरी सरकारले लगानीकर्ताका हरेक चासो, सरोकार र समस्यालाई सम्बोधन गर्दै आएको र त्यसलाई आगामी दिनमा अझै प्रभावकारी बनाउने कुरामा उनले विशेष जोड दिए । उनले लगानी बोर्डमार्फत् सार्वजनिक(निजी साझेदारी र निजी प्रत्यक्ष लगानीका परियोजना कार्यान्वयनले गति लिएको उल्लेख गर्दै नेपालले विश्व समुदायमा आकर्षक गन्तव्यको मजबुत साख निर्माण गर्न सफल भएको र त्यसमा लगानी बोर्ड नेपाल, लगानीकर्ता, विकास साझेदार एवम् लगानी सम्बन्धी सरोकारवाला सबै पक्षको महत्वपूर्ण भूमिका रहेको भन्दै आभार प्रकट गरे ।

त्यस्तै, लगानी बोर्डका उपाध्यक्ष माननीय अर्थमन्त्री डा। प्रकाशशरण महतले विदेशी समेत ठूलो निजी लगानी आकर्षित गरी सार्वजनिक–निजी साझेदारी र प्रत्यक्ष निजी लगानीमा पूर्वाधार र उत्पादनमूलक परियोजनाहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

लगानी बोर्डले स्थापनाको १२ वर्षमा ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनाका लागि १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । यस अवधिमा ५ खर्च २५ अर्व रुपैयाँ बराबरको लगानी परिचालन भएको छ ।

त्यस्तै ६००० र ३००० टन प्रतिदिन उत्पादन क्षमता रहेका क्रमशः होड्सी शिवम् सिमेन्ट र हुवासिन सिमेन्ट परियोजना व्यावसायिक सञ्चालनमा आएका छन्। धरानमा वेस्ट टु इनर्जी परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। ९०० मेगावाटको अरुण–३ जलविद्युत् परियोजना, २१६ मेगावाटको माथिल्लो त्रिशुली लगायतका परियोजना कार्यान्वयनका क्रममा छन् भने ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता सम्पन्न भई वित्तीय व्यवस्थापनको क्रममा रहेका छन् ।

४५० मेगावाटको सेती नदी( ६ सहित राष्ट्रिय गौरवको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसी लिमिटेडसँग समझदारी भई विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० को तयार हुँदैछ । यसका साथै ३२७ मेगावाटको अपर मर्स्याङ्दी–२ जलविद्युत् परियोजनाको डीपीआर मूल्यांकन भैरहेको छ र पीडीएको तयारी समेत शुरु भएको छ ।

यस अवधिमा लगानीकर्ताको विश्वास र लगानी गन्तव्यको रूपमा साख अभिवृद्धिमा एउटा नयाँ उचाइ प्राप्त भएको छ । नेपालमा पहिलो पुस्ताको विदेशी लगानीकर्ताको रूपमा परिचित डाबर नेपालले उत्पादन वृद्धि र विविधिकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ बराबरको पुनर्ललगानी गर्ने भएको छ । लगानी बोर्डको ५५ औं बैठकबाट चीन नेपाल मैत्री औद्योगिक पार्क परियोजनाको पीडीएका लागि वार्ता समिति गठन भै वार्ता समितीले कार्य थालनी गरिसकेको छ । यस अवधिमा लगानी बोर्डले लगानी बोर्डको कार्यालयलाई सार्वजनिक(निजी साझेदारी ९पीपीपी० को विशिष्टिकृत संस्थाको रूपमा विकास गर्न र संस्थागत सुदृढीकरणको पाटोमा महत्वपूर्ण कार्यहरू गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले चर्चा गरे।

उक्त अवसरमा तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताका क्रममा विकासकर्तासँग अन्तिम चरणको वार्तामा सहभागी हुने लगानी बोर्ड तर्फको पीडीएको वार्ता टोली र विकासकर्ता समेतलाई सम्मान गरिएको थियो । त्यस्तै, विदेशी लगानी आकर्षण एवं प्रवर्द्धनका लागि लगानी बोर्डको कार्यालयसँग निरन्तर सहकार्य गरी सहयोग पुयाएकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले लगानी बोर्ड स्थापनाको उद्देश्य, उपलब्धि र आगामी बाटो सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

वार्षिकोत्सव समारोहमा लगानी बोर्डका सदस्यह, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, लगानीकर्ता, कूटनीतिज्ञ, विकास साझेदार संस्थाका प्रतिनिधि, सञ्चारकर्मी एवं नागरिक समाजका प्रबुद्धः सदस्यहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?