१९ आश्विन २०८१, शनिबार

ताजा खबर

१९ कारोबार दिनमा ४२० अङ्कले घट्यो शेयरबजार

नागरिक पोष्ट

मंगलवार, १ आश्विन २०८१

953 views

953 views

१९ कारोबार दिनमा ४२० अङ्कले घट्यो शेयरबजार

काठमाडौं । गएको साउन ३१ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३ अङ्कले बढेर तीन हजार विन्दुमा पुग्यो । सो दिन उच्चतम ३०३६ विन्दुसम्म नेप्से परिसूचक पुग्दा लगानीकर्तामाझ खुशीको माहोल छायो । छोटो समयमै बजार एक हजार अङ्कले बढ्दा लामो समयदेखि प्रताडित लगानीकर्तालाई राहत मिल्यो ।

नेप्से परिसूचक तीन हजार विन्दु पार गर्दा लगानीकर्ताको खुशीको सीमा नै थिएन । कतिपय लगानीकर्ताले केक काटेर उत्सव नै मनाए । बजारका जानकार तथा लगानीकर्ताहरूले शेयर बजारमा उछाल आउने र यसअघि २०७८ साल भदौ २ गते बनाएको ३२०० को विन्दु समेत पार गर्ने घोषणा गर्न थाले ।


चोक, बजार र चिया पसलदेखि भट्टीसम्म शेयर बजारको चर्चा चुलियो । कारोबार रकमले नयाँ रेकर्ड बनाएसँगै समसामयिक मामिलाको केन्द्रमा शेयर बजार रह्यो । बढ्दो बजारमा छिट्टै धन कमाउने अपेक्षा लिएर सयौँ नयाँ लगानीकर्ता पनि दोस्रो बजारमा प्रवेश गरे ।

तर, साउन ३१ गतेयता एक महिना अवधिमा शेयर बजार निरन्तर ओह्रालो लाग्यो । साउनको अन्तिम कारोबार दिन ३०००.८१ रहेको नेप्से परिसूचक एक महिनामा ४२० अङ्कले घटेर २५८०.७६ विन्दुमा आइपुगेको छ ।


एक महिनामा १९ दिन शेयर कारोबार हुँदा दैनिक औसत २२ अङ्कले नेप्से घटेको हो । बजार घटेसँगै करोबार पनि दैनिक रूपमा घट्दो छ । तीन हजार विन्दु पुग्दा एकै दिन २९ अर्ब ३० करोड रुपैयाँसम्म कारोबार भई नयाँ रेकर्ड बनाएको बजार एक महिनाभित्रै दैनिक ६–७ अर्ब रुपैयाँ कारोबारमा खुम्चिएको हो ।

भदौमा १९ दिन शेयर बजार खुल्दा २ खर्ब ४५ अर्ब ७७ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दैनिक औसतमा १२ अर्ब ९३ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्से तीन हजारको विन्दुमा पुग्दा ४–५ करोड कित्ता कारोबार हुने गरेकोमा बजार घटेसँगै शेयर कित्ता पनि घटेर १ करोडमा सीमित भएको छ । १९ दिनमा जम्मा ४७ करोड ९९ लाख ३२ हजार १९२ कित्ता कारोबार हुँदा दैनिक औसत २ करोड ५२ लाख ५९ हजार ५६९ कित्ता कारोबार भएको छ ।

यता किनबेचमा त्यस्तै भएको छ । तीन हजार विन्दुमा नेप्से पुग्दा २–३ लाख पटक शेयर किनबेच हुने गरेकोमा अहिले हजारमा सीमित भएको छ । एक महिनामा २८ लाख ४७ हजार २७९ पटक किनबेच हुँदा दैनिक १ लाख ४९ हजार ८५६ पटक शेयर किनबेच भएको हो ।

१९ दिन शेयर कारोबार हुँदा १३ दिन बजार घटेको छ भने ६ दिन मात्र बजार बढेको छ । लगानीकर्ता समूहका बग्रेल्ती ‘नेता’ र ‘बजार विश्लेषक’हरूले भने घट्दो क्रम बजारको करेक्सन मात्र भएको बताउँदै आएका छन् ।

तीन हजार विन्दुबाट घट्न सुरु हुँदा ‘करेक्सन मात्रै’ भनेका यी व्यक्तिहरूले ४२० अङ्क घटिसक्दा पनि त्यही जार्गन दोहोर्‍याइरहेका हुन् ।

किन घटिरहेको छ बजार ?

तीव्र बढोत्तरीका कारण अहिले घट्दा पनि त्यस्तै प्रवृत्ति देखिएको इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् । विशेषतः अहिले लगानीकर्ताले धैर्यता गुमाएका कारण बजार घटेको उनको भनाइ छ ।

‘बजार बढ्दा २०५० बाट एकैचोटि तीन हजार विन्दुमा पुगेको थियो’, ढकालले भने, ‘करेक्सन ४५० अङ्क हुने होइन, तर लगानीकर्ता अत्तिएर यत्तिको करेक्सन भएको हो । तपाईं हामीले शेयर नबेच्ने हो भने भोलिदेखि बजार बढिहाल्छ नि ! होइन र ?’

‘बजार मात्तिएरै बढेको थियो । २४०० मा वा २८०० मा करेक्सन भएर गएको भए थामिन्थ्यो पनि ! तर एकैचोटि रन्किएर तीन हजार पुग्यो’, ढकालले भने, ‘अहिले बजारमा करेक्सन आएसँगै लगानीकर्ता बढी आत्तिएको जस्तो लाग्यो मलाई । लगानीकर्ता आत्तिएर जत्तिमा पनि शेयर फाल्न थालेपछि बायरले जति सस्तोमा पायो, त्यत्ति सस्तोमा उठाउने हो ।’

बिक्रीकर्ताले नै अलिकति रोक्दै गएको भए बजारमा यति धेरै गिरावट नआउने ढकालको भनाइ छ । ‘हिजो २ हजार विन्दुमा किनेका व्यक्तिको लागि त २४००–२५०० मा बेच्दा पनि नाफै हुन्छ’, ढकालले भने, ‘उनीहरूलाई मूल्य फेरि अझै झर्‍यो भने के होला भन्ने होला ।’

कतिपय नयाँ लगानीकर्ताहरू भर्खर प्रवेश गरेकाले बजार अझ झर्‍यो भने के होला भन्ने भएकाले पनि धमाधम शेयर बेचिरहेको हुनसक्ने ढकालको भनाइ छ ।

सबै कुरा सकारात्मक हुँदा पनि बजार घट्नुमा चलखेल भएको हुनसक्ने बजारका जानकार छोटेलाल रौनियार बताउँछन् । ‘बजारमा सबै पोजेटिभ देख्छु । सबै नेगेटिभ हल्लाहरू मात्र छन् । क्यापिटल गेन ट्याक्स बढाउने भन्ने हल्ला सुनिरहेको छु’, रौनियारले भने, ‘हल्ला कहाँबाट फैलाउछन्, त्यो थाहा हुँदैन । यस्तै खालका विभिन्न नेगेटिभ हल्लाहरू फैलाइन्छन्, अनि बजार घटाउँछन् ।’

बजार जहिले पनि आधा घण्टाअघि घट्नु शंकास्पद भएको रौनियारको भनाइ छ । ‘बजारमा कहिँकतै बदमासी भइरहेको हो कि भन्ने पनि लागिरहेको छ । तीन हजार पुग्दा जुन परिस्थिति थियो– आज पनि शेयर बजारलाई प्रभाव पार्ने परिस्थिति उस्तै छ,’ रौनियारले भने, ‘मौद्रिक नीति परिवर्तन भएको छैन, बैंकको ब्याजदार घट्ने क्रममा छ, तरलता बढ्दो छ ।’ नकारात्मक कुराहरू बढी मात्रामा भएकाले अहिले बजार घटेको रौनियार बताउँछन् ।

‘अस्ति संसदमा बहस चल्यो, त्यसले पनि बजार घट्यो’, रौनियारले थपे, ‘क्यापिटल गेनमा लामो समयको लागि ७ प्रतिशत र छोटो समयको लागि १० प्रतिशत भन्ने हल्ला चलिरहेको छ ।’ अनावश्यक हल्ला बढी चल्ने र टीएमएस बिग्रिने कारणले गर्दा पनि अहिले बजार घटिरहेको उनको भनाइ छ ।

रौनियारको भनाइमा शेयर विश्लेषक मुक्ति अर्याल पनि सहमत छन् । कमजोर नियामक निकाय भएकाले बजारमा त्यस्ता खालका चलखेलहरू हुनसक्ने आधार धेरै भएको अर्याल बताउँछन् ।

‘चलखेल हुन्छ नै भनेर भन्न सक्दिनँ, किनकी मसँग प्रमाण छैन’, अर्यालले भने, ‘तर हाम्रोजस्तो कमजारे नियामक भएको मुलुकमा त्यस्तो खालको गतिविधि हुन्छ ।’

तर, अध्यक्ष ढकाल भने यो कुरा मान्न तयार छैनन् । ‘तेरो शेयर म लिन्छु, जबरजस्ती बेच भनेर त कसैले पनि भन्दैन । त्यसलाई कसरी चलखेल भन्ने ?’, ढकालले भने, ‘चलखेल जस्तो त मलाई लाग्दैन । तर हतास मानसिकता र आज बेचेर भोलि फेरि ५०–१०० अङ्क तल किन्न पाउँछु भन्ने कुरा हुनुपर्छ ।’

ठूला लगानीकर्ताले किन्न नपाएर बजार घटाएको हुनसक्ने एक ब्रोकरका सीईओको बताउँछन् । ठूला लगानीकर्ताले तीन हजारको विन्दुमा प्रफिट बुक गरेको कारण अहिले त्यही लगानीकर्ताले बजार घटाउन लागिपरेको उनको भनाइ छ ।

करिब एक हजार अङ्कले बढेको बजारमा ४० प्रतिशत भन्दा बढी घटेपछि अहिले ठूला लगानीकर्ताले धमाधम शेयर किनिरहेको ती सीईओको भनाइ छ । ‘ठूला लगानीकर्ताले किन्न पाएनन् भनेर अहिले बजार घटाएको देखिन्छ’, ती सीईओले भने, ‘बजार १७०० को विन्दुमा आउँछ भनेर हल्ला चलाउन थालेका छन् ।’

अब के हुन्छ बजार ?

बजार घटेसँगै अब नेप्से कति विन्दुमा पुग्छ भन्ने पनि चर्चा चलेको छ । तीन हजार बिन्दुमा पुगेको बजार ४२० अङ्कले घट्नु भनेको बजार करिब १५ प्रतिशत घट्नु हो । यसलाई करेक्सन नै भन्न सकिने शेयर विश्लेषक मुक्ति अर्याल बताउँछन् ।

अन्तराष्ट्रिय अभ्यासमा अनुसार १० प्रतिशत घट्नुलाई करेक्सन र २० प्रतिशत घट्नुलाई बियर भनिने भएकाले अहिले करेक्सन चक्रमा नै बजार रहेको अर्यालको भनाइ छ ।

‘बजार १५ प्रतिशत हाराहारी घटेको छ त्यसले गर्दा यो करेक्सनको क्रममै छ’, अर्यालले भने, ‘अहिले सबै कुराले गर्दा बजार बढ्ने आधारहरू छन्, तर, कहिले बढ्छ भन्न सकिने अवस्था भने छैन ।’

अब करेक्सन चक्र सकिएकाले गर्दा बजार बढ्नुपर्ने उनी बताउँछन् । तर बजार सेन्टिमेन्टका आधारमा धेरै चल्ने भएकाले गर्दा पनि लगानीकर्ताको सेन्टिमेन्ट कता जान्छ भन्ने कुराले आगामी दिनमा बजारको भविष्य निर्धारण गर्ने उनको भनाइ छ ।

अब बजार २४०० को विन्दुमा आउनसक्ने शेयरबजारका प्राविधिक विश्लेषक शिवलाल भुसाल बताउँछन् । निरन्तर बजार घट्दै गएमा भने १७०० को विन्दुसम्म बजार झर्ने सम्भावना उनी सुनाउँछन् ।

‘२४०० बाट ओह्रालो लाग्यो भने २२०० को विन्दुमा आउँछ । २२०० बाट ओरालो लाग्यो भने १७५० को विन्दुमा आउँछ’, भुसालले भने, ‘त्यो बेला भनेको घटेर बेचेर भएपनि लगानी गर्ने हो ।’

अहिले लगानीकर्ता अझै बजार घट्छ र किनौला भन्नेर पर्खिरहेका, तर भोलिका दिनमा त्यसरी सस्तोमा शेयर नपाइने अध्यक्ष ढाकाल बताउँछन् । ‘अहिले बेचेर हिँड्ने मान्छेहरू भोलि पछुताउने बेला पनि आउन सक्छ’, ढकालले भने ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूले बोनस घोषणा गरिहेको, ब्याजदर घटिरहेको, चाडपर्वका बेला विदेशमा भएका व्यक्तिले रेमिट्यान्स पठाउँदा बैंकमा पैसा थुप्रिने भएकाले बजार बढ्ने देखिएको ढकालको भनाइ छ ।

यतिबेला भएको शेयर नबेच्ने, सकेसम्म राम्रो कम्पनी छानेर किनेर बस्नुपर्ने ढकालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?