बिहीबार, ४ पुष २०८१
528 views
528 views
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका दुर्गम क्षेत्रका वडामा प्रहरीचौकी स्थापनाको माग गरिएको छ । वडा नम्बर ६, ७ र ८ लाई समेट्ने गरी प्रहरीचौकी स्थापना गर्न स्थानीय बासिन्दाले माग गरेका हुन् ।
चोरी एवं आपराधिक घटना बढ्दै गएकाले प्रहरी पोष्टको स्थापनाको माग गरिएको शुक्लाफाँटा –७ का वडा सदस्य केशव ठगुन्नाले बताए । उनले भने, ‘चार बढी घरमा एकै पटक चोरी भएको छ, प्रहरीचौकी भएको भए त्यो रोकिन्थ्यो ।’ पायक पर्ने ठाउमा प्रहरीचौकी स्थापना हुनुपर्ने उनको भनाइ छ ।
शुक्लाफाँटा –१२ का वडाध्यक्ष नवलसिंह रानाले वडा नम्बर १ मा स्थापना गरिएको प्रहरीको अस्थायी पोष्टलाई स्थानान्तरण गरी वडा नम्बर १ र १२ को बीचमा पर्ने गरी राख्नुपर्ने सुझाव दिए ।
स्थानीय बासिन्दाको मागलाई मध्यनजर गर्दै वडा नम्बर ७ र ८ का बीचमा प्रहरीचौकी राख्नेबारे नगरकार्यपालिकाबाट निर्णय गरी जिल्ला सुरक्षा समितिमा पठाइएको नगर प्रमुख रणबहादुर महराले बताए ।
‘प्रहरीचौकीको त्यस ठाउँमा निकै आवश्यक छ’, उनले भने, ‘टाढाको क्षेत्र भएकाले प्रहरी पुग्न निकै समय लाग्छ, त्यस बेलासम्म अपराध गर्नेहरु फरार हुन्छन्, शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरीचौकीको अत्यन्त खाँचो छ ।’
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीचौकी राख्नेबारे जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरेर गृह मन्त्रालयमा पठाइएको बताए । उनले वडा नम्बर १ र १२ मा प्रहरी पोष्टलाई स्थानान्तरण गरेर राख्नुपर्नेबारे बुझेर कार्य अगाडि बढाइने बताए ।