शुक्रबार, २९ असार २०८१
5662 views
5662 views
नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका २ यात्रुबसमा ६५ जना सवार रहेको खुलेको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट दुईवटा बसमा ६५ यात्रु रहेको विवरण दिएका हुन्।
भरतपुर महानगरपालिका-२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको थियो। जसमा २४ जना यात्रु सवार थिए।
त्यस्तै काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस ४१ जना यात्रु रहेको पुष्टि भएको यादवले बताए ।
कास्की– पोखरा महानगरपालिकामा गएराति पहिराले घर पुरिँदा एकै परिवारका ७ जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौर ठाँटीका कुलबहादुर परियारको घर गएराति सवा १० बजे झरेको पहिरोले पुरिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा कुलबहादुर परियार, मनकुमारी परियार, लक्ष्मी परियार, प्रशना परियार, प्रभाव परियार, अमित परियार र राधिका परियार छन् ।
काठमाडौं । नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गअन्तर्गतका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात ठप्प भएको छ। संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने प्रमुख सडकमा यातायातका साधन चल्न सकेका छैनन् ।
भरतपुर महानगरपालिका-२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स यात्रु वाहक बस बगाएको छ।
पहिरोले काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखिएको बसलाई पनि बगाएको छ । दुवै बस त्रिशुली नदीमा खसेकाले खोजी र उद्धार चलिरहेको छ ।
भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा पनि पहिरो खसेको छ । पहिरोसँगै खसेको ढुंगाले लागेर बुटवलबाट काठमाडौँ जाँदै गरेको बस चालकको मृत्यु भएको छ । पहिरोले क्षतिग्रस्त बस अहिले घटनास्थलमै छ ।
पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना–६ कालिखोलानजिक बिहान ४ः१५ बजे लेदोसहितको पहिरो झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अहिले सबै ठाउँमा पहिरो पन्छाउन डोजरसहितको जनशक्ति परिचालन गरिएको छ। राजमार्ग दुईतर्फी ठप्प छन् ।