आईतवार, २४ असार २०८१
4438 views
4438 views
काठमाडौं । सांसदहरूले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा उनीहरूले बाढी र पहिराबाट धनजनको क्षति कम हुने गरी प्रतिकार्यलाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका हुन् ।
सांसद शंकर भण्डारीले मुलुकभर बाढी र पहिरोका कारण धनजनको क्षति भएकाले प्रतिकार्यका लागि तयारी अवस्थामा रहन राज्यका निकायको ध्यानाकर्षण गराए । उनले सम्भावित जोखिमको पूर्वानुमान गरेर उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने बताए ।
त्यस्तै सांसद हितराज पाण्डेले लगातारको वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएको भएकाले विपद्मा परेका नागरिकको उद्धार तथा राहत वितरणमा केन्द्रित हुन ध्यानाकर्षण गराए । पाण्डेले विपद्का बेला सबै राजनीतिक दल, सुरक्षा निकाय, आम नागरिक एक भएर लाग्नुपर्ने उल्लेख गए ।
त्यस्तै सांसद सूर्यबहादुर थापा क्षेत्रीले मनसुनजन्य विपदमा परेका नागरिकको उद्धार तथा राहतमा भन्दा पनि वर्तमान सरकार सत्ताको पिडामा रहेको बताए । उनले बर्सेनि दोहोरिने विपद्का घटना न्यूनीकरण गर्न सरकारकाले विशेष योजना बनाउनुपर्ने र वर्षाका कारण अवरुद्ध सडक व्यवस्थित गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।
त्यस्तै सांसद अब्दुल खानले विकास निर्माणका परियोजनालाई प्राकृतिक प्रकोप प्रतिरोधी बनाउन माग गरे । अन्य सांसदहरूले प्रतिकार्यका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।