मंगलवार, ८ जेष्ठ २०८१
8705 views
8705 views
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ को स्थलगत अवलोकनका लागि आउनुभएकी नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कलाई काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थलगत जानकारी गराउनुभएको छ । आज भएको अवलोकन भ्रमणका क्रममा राजदूत भोल्कले, तालिमको पाठ्यवस्तु, सिकाइ प्रक्रिया, श्रम बजारसँगको सम्बन्ध, साझेदारी र यसपछि सञ्चालन हुने क्रियाकलापका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
राजदूतका जिज्ञासाको जवाफमा उपप्रमुख डंगोलले, ‘सिप मेला’ सबैलाई समान अवसर प्रदान गर्ने व्यवसायिक पेशाको क्षमता विकास कार्यक्रम भएको बताउनुभयो । ‘तालिम लिएकाहरुलाई रोजगार, स्वरोजगार र अन द जब टे«निङ्मा आवद्ध गराउन तालिमका अन्तिम २ दिन रोजगार मेलाको आयोजना गर्नेछौँ ।’ उहाँले भन्नुभयो, ‘तालिममा प्रयोगात्मक कक्षा सञ्चालन हुनु महत्वपूर्ण पक्ष हो । प्रयोगात्मक कक्षाबाट विद्यार्थीहरुले अहिले नै देखिने सिप विकास प्रदर्शन गरिसक्नुभएको छ । फलामको घर निर्माण भएको छ । इटाको गारो लगाएर भवनको जग निर्माण भएको छ । टाइल र मार्वल राखेका संरचना निर्माण भएका छन् ।’
अवलोकनका क्रममा राजदूत भोल्कले, मेलाबाट आफू प्रोत्साहित भएको प्रतिक्रिया दिनुभयो । ‘स्वदेशमा अवसर छन् । म यहीँ केही गर्न सक्छु । यसका लागि मेरो क्षमता छ भन्ने सन्देश, मेलाको महत्वपूर्ण पक्ष हो भन्ने मैले ठानेकी छु ।’ उहाँले यस्ता तालिमका लागि संघीय सरकारले नीति बनाएर प्रदेश सरकार, स्थानीय सरकार र साझेदार बिच सहकार्य हुने वातावरण तयार गर्न सके प्रभावकारी नतिजा आउने उहाँको भनाइ थियो ।
त्यस क्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रदीप परियारले भन्नुभयो, ‘बेरोजगारलाई श्रम बजार र रोजगारीसँग जोड्नु नै मेला सञ्चालनको उद्देश्य हो । तालिम लिनका लािग स्थानीयबासी, फोहोर प्रभावित क्षेत्रका व्यक्ति र महिलाहरुलाई प्रोत्साहित गरेका छौँ ।’
अवलोकन भ्रमणका क्रममा अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, मेला व्यवस्थापन निर्देशक समितिका सदस्य सुदीप ढकालले सोधिएका र आफूसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिनुभएको थियो ।