७ कार्तिक २०८१, बुधबार

ताजा खबर

इलाम र बझाङ उपनिर्वाचनमा ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अपिल

नागरिक पोष्ट

शनिबार, १५ बैशाख २०८१

5611 views

5611 views

इलाम र बझाङ उपनिर्वाचनमा ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अपिल

काठमाडौँ । निर्वाचन आयोगले इलाम र बझाङमा आज हुने उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ । यी दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । 

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको पनि आयोगले जनाएको छ ।

इलाम २ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । 
बझाङ १ (क) कुल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगले इलाम र बझाङको निर्वाचनमा सहभागी हुन अपीलसमेत गरेको छ । 

इलाम २ मा प्रतिनिधि सभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क) मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । यी दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएकोसमेत आयोगले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?