७ कार्तिक २०८१, बुधबार

ताजा खबर

महिला पत्रकारका लागि ‘सुख-दुːखको साथी’ अभियान सुरु

नागरिक पोष्ट

आईतवार, ९ बैशाख २०८१

5305 views

5305 views

महिला पत्रकारका लागि ‘सुख-दुːखको साथी’ अभियान सुरु

काठमाडौँ । महिला पत्रकारहरुको संस्था संवाहिका समाज नेपालले ‘सुख–दुːखको साथी’ अभियानको सुरुवात गरेको छ । महिला पत्रकारलाई दुख, आपत वा अत्यन्त अप्ठेरो परेको अवस्थामा एक अर्कालाई सघाउने उदेश्यका साथ ‘सुख–दुːखको साथी’ अभियान सुरु गरेको हो ।


संस्थाकी सचिव कविता थापाको बुबा कृष्णबहादुर थापाको असामयिक निधनका कारण शोकमा रहनु भएको छ । सोही दुखको घडीमा थापालाई सघाउदै संवाहिका समाज नेपालले शनिबारदेखि ‘सुख–दुːखको साथी’ अभियान सुरु गरेको हो ।

उहाँको बुबाको उपचार तथा निधनपछिको कार्य सहजतामा सघाउदै संस्थाका पदाधिकारी तथा सदस्यहरुले स्वेच्छिक रुपमा २२ हजार रुपियाँ संकलन गरेको थियो । थापाको घरमा आयोजित श्रद्धाञ्जलि सभामा दुखसुखको साथी अभियानमार्फत संकलन गरिएको स्वेच्छिक रकम २२ हजार रुपियाँ उहाँलाई हस्तान्तरण गरिएको छ ।

एकअर्काको सुख–दुːखमा सघाउने बाचासहित पहिलोपटक यसरी सहयोगको शुरूवात आफैबाट गरिएको संस्थाकी अध्यक्ष चाँदनी हमालले बताउनुभयो । उहाँका अनुसार महिला पत्रकारलाई सबल बनाउदै उनीहरुको हैसियत समाज र परिवारमा स्थापित गर्न यस अभियानले मद्दत गर्नेछ । उहाँका अनुसार आवश्यक पर्दा ‘सुख–दुːखको साथी’ छौँ है भन्ने महसुस गराउनेगरी अभियानलाई अघि बढाउने संस्थाको योजना छ।

महिला पत्रकारको अफिसियली काम बाहेक घरेलु जिम्मेवारी पनि उच्च हुन्छ । त्यसमा आफै बलियो हुन सकिएन भने घर र कामबीचको सन्तुलन कायम गर्न गाह्रो हुन्छ । सोही सन्तुलनलाई कायम राख्न अप्ठेरो पर्दा यसरी नै एक अर्काको सहायक बनेर अघि बढ्न सकिने उपाध्यक्ष भगवती तिमल्सिनाले बताउनुभयो ।

संस्थाका अनुसार आगामी दिनमा पनि कुनै पत्रकार महिलालाई दुख र अप्ठेरो परेको खण्डमा उसको अप्ठेरोपनालाई बुझेर यसरी नै स्वेच्छिक सहयोग जारी राखिनेछ ।

दुखसुखको साथी अभियानलाई दिर्घकालमा मूर्त रुप दिन संस्थाले महिला पत्रकार सुरक्षा कोषको अवधारणलाई विधानमा समेटेको महासचिव शिवा तामाङले जानकारी दिनुभयो । अन्य क्रियाशिल महिला पत्रकारले पनि यो अभियानमा सरिक भएर स्वेच्छिक रकम जम्मा गर्न सक्नेछन् ।

 


संस्थाले सञ्चालन गरेका क्रियाकलाप, सदस्यता शुल्कबाट उठेका रकमको केही अंश तथा सहयोगी दाताले कोषका लागि दिएका रकमका साथै बेला– बेलामा जन्मदिन, पुरस्कार तथा उपहार प्राप्त भएको रकमबाट पनि कोषमा राख्न सकिने कोषाध्यक्ष बिनु श्रेष्ठले बताउनुभयो । संस्थामा पदाधिकारीसहित कार्य समितिमा ११ सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?