७ कार्तिक २०८१, बुधबार

ताजा खबर

अस्पतालमा पानी अभावले उपचार सेवा प्रभावित

नागरिक पोष्ट

बुधबार, २४ माघ २०८०

5781 views

5781 views

अस्पतालमा पानी अभावले उपचार सेवा प्रभावित

पर्वत  । पर्वतको एकमात्र सरकारी सुविधा सम्पन्न पर्वत अस्पतालमा दैनिक उपभोग गर्ने पानीको अभावले उपचार सेवा प्रभावित बनेको छ ।

नियमित स्रोतबाट आउने पानीले अस्पतालका बिरामीको उपचार, उपकरणलगायत अस्पतालको सरसफाइ र बिरामीका लागि समेत अपुग भएपछि समस्या परेको हो । 


अस्पतालमा दैनिक ३० देखि ४५ हजार लिटरसम्म पानीको आवश्यकता पर्ने भएपनि दैनिक १५ देखि १८ हजार लिटरमात्र उपलब्ध हुँदै आएको छ । आवश्यकताभन्दा ५० प्रतिशत कम पानीले दैनिक उपचार सेवा प्रभावित हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले जानकारी दिए ।

अध्यक्ष गिरीका अनुसार अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु भएपछि खानेपानीको संकट गहिरिँदै गएको हो । दैनिकजसो सातवटा श्ययामा मिर्गौलाका बिरामीको हेमोडायलायसिस हुँदै आएको छ । हेमोडायलायसिस गर्न मात्र झण्डै १० हजार लिटर पानी दैनिक खर्च गर्नुपर्ने भए पनि पानीको अभावले समस्या सिर्जना हुँदै आएको छ ।


डायलायसिससँगै अन्तरङ्ग, बहिरङ्ग, दन्त उपचार सेवा, एक्सरे, सुत्केरी सेवा, शल्यक्रिया विभाग, बालबालिका विभागमा भर्ना भएका बिरामीको सरसफाइ तथा कार्यालय सहयोगी, स्वास्थ्यकर्मी र कर्मचारीको आवासलगायतका ठाउँमा दैनिक उपभोगका लागि पानीको अभाव देखिएको छ । पानी अभाव हुँदा निजी घरबाट सापट मागेरसमेत काम चलाउनुपर्ने बाध्यता रहेको अध्यक्ष गिरीले जानकारी दिए ।

सदरमुकाम कुश्माबजारमा खानेपानीको व्यवस्थापन गर्दै आएको शिवालय कुश्मा खानेपानी सरसफाइ उपभोक्ता समितिले समेत अहिले भइरहेको परिमाणभन्दा थप पानी उपलब्ध गराउन नसक्ने भएपछि स्रोतको खोजी गर्न थालिएको छ । शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, प्रमुख जिल्ला अधिकारी प्रेम आचार्य, अस्पताल व्यवस्थापन समितिलगायतको सहकार्यमा नयाँ स्रोतको खोजी भएको अध्यक्ष गिरीले जानकारी दिए। 

कुश्मा नगरपालिका वडा नं ४ स्थित कालीगण्डकी नदीको किनारमा रहेको गोपाङ्गघाटको मूलबाट लिफ्टिङ गरेर पानी ल्याउने गरी तयारी भइरहेको अस्पतालले जनाएको छ । 

लगत्तै प्रदेशको सामाजिक सुरक्षा तथा स्वास्थ्य मन्त्रालयबाट रु ५० लाख  विनियोजन भएपछि वैकल्पिक स्रोतबाट पानी ल्याएर समस्याको समाधान गर्न थालिएको अध्यक्ष गिरीले जानकारी दिए। उनका अनुसार प्रतिसेकेण्ड तीन लिटर पानी तान्नेगरी लिफ्टिङ गरिने भएको छ । उक्त योजना तत्काल सुरु गर्ने र अबको दुई महिनाभित्र पानीको समस्या समाधान गरिने अस्पतालका अध्यक्ष गिरीले बताए । 

पन्ध्र श्ययाको अस्पतालबाट ५० श्ययामा स्तरोन्नति भइरहेको अस्पतालमा अहिले ६३ वटा श्ययामा राखेर बिरामीको उपचार भइरहेको छ । पछिल्लो समय अस्पतालले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिसलगायत अन्य सामान्य प्रकृतिका शल्यक्रिया सेवासमेत सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?