७ कार्तिक २०८१, बुधबार

ताजा खबर

थापाथलीमा अरबौं पर्ने मन्दीरको जग्गा व्यक्तिको नाममा कसरी पुग्यो

नागरिक पोष्ट

मंगलवार, २३ माघ २०८०

6240 views

6240 views

थापाथलीमा अरबौं पर्ने मन्दीरको जग्गा व्यक्तिको नाममा कसरी पुग्यो

काठमाडौं– ०७३ साल चैत ८ मा पाँच जना न्यायाधिशको संयुक्त इजलासले गुठीको जग्गा जे–जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न गरेको फैसलालाई काठमाडौं जिल्ला अदालतको २०८० मंसीर २७ गतेको निर्णयले उल्ट्याइ दिएको छ । गुठीको (जहाँ लक्ष्मीनारायणको मन्दीर छ ) जग्गा व्यक्तिको नाममा हुने गरी विवादास्पद फैसला भएको पाइएको छ ।
न्यायाधीश दुर्गाप्रसाद खनालको एकल इजलासले उक्त विवादित फैसला गरेको हो । सर्वोच्चको प्रतिवादित नजिरलाई लत्याउँदै खनालले गुठीको जग्गा व्यक्तिको नाममा गरेर विवादास्पद फैसला गरेका हुन् ।
थापाथलीस्थित करिया गाउँमा रहेको गुठीको जग्गा जयपाल श्रेष्ठको नाममा गरिएको हो । गुठी नियमावली विपरित खाजा समयमा समेत काम गरेर अर्को दिन मुद्दाको पेसी नसर्ने गरी न्यायाधिश खनालले श्रेष्ठका पक्षमा फैसला गरेको आरोप छ ।

थापाथलीस्थित कुरियागाउँमा बनेको लक्ष्मीनारायणको मन्दिर र त्यस वरपरको करिब साढे ३ रोपनी गुठी जग्गा गुठी संस्थान मातहत ल्याउन २०७३ मा फैसला भएको थियो ।
मन्दिर र यस वरपरको जग्गा पूर्वराजा वीरेन्द्रका चालक (पाइलट) गोपाल श्रेष्ठ हुँदै हाल उनकी श्रीमती इन्दिरा श्रेष्ठ र पछि उनका छोरा जयपाल श्रेष्ठका नाममा नामसारी भएको थियो । श्रेष्ठ परिवारले वर्षौंदेखि मन्दिर र त्यस वरपरको जग्गा निजी विद्यालय सञ्चालनका लागि भाडामा दिँदै आएको थियो।
गुठी संस्थानले केही बर्ष अघि सो लक्ष्मीनारायणको मन्दिर र त्यस वरपरको करिब साढे तीन रोपनी गुठी जग्गा गुठी संस्थान मातहत ल्याउने प्रक्रिया सुरु गरेको पनि हो । सो प्रक्रिया सामसुम पारेर आदलतबाट अहिले अर्को निर्णय गराइएपछि अहिले जिल्ला अदालतको सो निर्णय प्रति भयंकर शंशय उत्पन्न भएको छ । 
०७६ सालमा मन्त्रिपरिषद्ले नै गुठी संस्थानलाई सो जग्गा मातहत ल्याउन आदेश दिएपछि व्यक्तिले हड्पेको जग्गा संस्थान मातहतमा ल्याउने प्रक्रिया सुरु भएको थियो । काठमाडौँ महानगरपालिका–११ मा रहेको मन्दिर र गुठी जग्गालाई पुरानै स्वरुपमा फर्काउन संस्थान लागि परेको पनि हो । तर काठमाडौं जिल्ला अदालतको ०८० मंसीर २७ गतेको निर्णयले गुठीको अरबौं पर्ने मुल्यवान जग्गा ब्यक्तिको पोल्टामा पर्ने भएको छ । त्यसरी अरबौंको सरकारी जग्गा सेटिगको भरमा एकजना ब्यक्तिको नाममा पुगिसक्दा समेत गुठी संस्थान सहित सम्बन्धीत सरोकारवाला मौन छन् । सरकारले गलत गर्नेहरुको, सरकारी जग्गा किर्ते गरी हत्याउने तथा हड्प्नेहरुको फाइल धम्माधम खोलिरहेको अवस्थामा यस विषयमा पनि विशेष ध्यान खर्चनु पर्ने एकजना स्थानिय ब्यक्तित्वले बताए । उनले भने सबैजना चुप लागेर बस्ने हो भने यो ऐतिहासि मन्दीर अब ब्यक्तिको नाममा जाने भो ।
सयौँ वर्ष पुरानो पुरातात्विक महत्वको सो मन्दिरमा हाल स्थानीयवासी प्रवेशमा रोक लगाइएको छ । जहाँ भिएस निकेतन देखि मेरी पपिन्स हुँदै हाल त्रैविद्य शिक्षा सदन भाडामा बस्दै आएको छ । संस्थानमा राजगुठीको लगत भएको सो जग्गा मालपोत कार्यालय वीरगञ्जबाट राजीनामा पास गरी श्रेष्ठ परिवारका नाममा आएको देखिन्छ । जबकी काठमाण्डौको जग्गा वीरगञ्ज मालपोतमा राजानिामा पास हुने कुरा नै किर्ते भएको एक जना अधिबक्क्ताले बताए । 
 सयौँ वर्षदेखि मन्दिरमा प्रवेश गर्दै आएका स्थानीयवासी बिहान–बेलुका जान नपाउँदा अहिले भने दुखी छन् । 
यो मन्दिर ऐतिहासिक घटनासँग सम्बन्धित रहेको पुरुषोत्तमशम्शेरले लेख्नुभएको पुस्तक ‘श्री ३ हरुको तथ्य वृत्तान्त’ नामक पुस्तकमा समेत उल्लेख छ । लखनऊ लुटका नामले चर्चित भारतीय घटनामा त्यहाँका राजा रणजीत सिंह मुसलमानको आक्रमणमा परे । उहाँकी रानीले बचाउन भनी तत्कालीन राणा शासक जङ्गबहादुरसँग हारगुहार मागिन् । जङ्गबहादुरले रानीलाई ल्याएर थापाथलीस्थित प्रसूतिगृह नजीकै राखे । तिनै रानीले राजस्थानी शैलीमा लक्ष्मीनारायण मन्दिर बनाएको विषय पुरुषोत्तमशम्शेरले पुस्तकमा उल्लेख गर्नुभएको थियो ।
पुस्तौँदेखि बिहान–बेलुका मन्दिरमा पूजाआजाका लागि प्रवेश गरिरहेका स्थानीयवासीलाई एकाएक रोक्न थालेपछि यसका विरुद्ध केही मानिस सङ्गठित भए । यो विषय गुठी संस्थानसम्म पुग्यो । संस्थानले मन्दिर र त्यस वरपर रहेको जग्गा गुठीको हो भन्ने तथ्य प्रमाण फेला पारेको थियो । मन्दिरको अघि सानो पोखरी थियो । पोखरीमा जलमाथि सुत्नुभएका नारायणको मूर्ति राखिएकामा अहिले त्यो संरचनासमेत हटाइएको छ । पोखरीमा कमल फुल्थ्यो । त्यही कमलको फूल लक्ष्मीनारायण मन्दिरमा चढाइन्थ्यो । यो परम्परासमेत लोप भएको छ ।    
  मन्दिरमा निर्बाध आउजाउ गर्न पाउनुपर्ने माग गर्दै स्थानीयवासी पूर्णलाल, अश्लेचन, लगायतका स्थानीयवासी, सर्वमङ्गल युवा समूहका सदस्य सचिव अर्जुन अधिकारी, सम्पदा संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुशान्त श्रेष्ठलगायत मन्दिर संरक्षणमा जुट्दै आएका छन् ।    
 यहाँबाट पारि ललितपुर सामान वारपार गरिने भएकाले करिया गाउँ भनिन्थ्यो । भीमसेन थापाले हाल नेपाल कला परिषद् भएको स्थानमा दरबार बनाएपछि यो ठाउँलाई थापाथली भन्न थालिएको विषय पुरुषोत्तमशम्शेरले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।    
जङ्गबहादुर राणाको पुख्र्यौली घरसमेत थापाथलीमै थियो । थापालाई राणाले यहाँबाट हटाएपछि कुरियागाउँ भन्न थालिएको स्थानीयवासी बताउँछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?