८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

बजेटको अर्धवार्षिक समीक्षा : आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब

नागरिक पोष्ट

सोमबार, १ माघ २०८०

9130 views

9130 views

बजेटको अर्धवार्षिक समीक्षा : आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब

काठमाडौँ । आर्थिक वर्ष २०८०र८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत आम्दानी र ३२ दशमलव ३५ प्रतिशत खर्च भएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजश्व उठाउने लक्ष्य लिएको छ । कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड ५६ लाख बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत बराबर हो । ६ महिनामा कर राजश्वतर्फ ३३ दशमलव ९८ प्रतिशत अर्थात् चार खर्ब ४३ अर्ब ५५ करोड २० लाख उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ४५ दशमलव २३ प्रतिशत अर्थात् ५२ अर्ब ९४ करोड ७८ लाख बराबर असुली भएको छ ।
चालु आर्थिक वर्षका लागि कूल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म पाँच दशमलव ५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ ।

चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ३२ दशमलव ३५ प्रतिशत बराबर हो । चालुगत शीर्षकमा कूल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकामा ३८ दशमलव ३१ प्रतिशत अर्थात् चार खर्ब ३७ अर्ब ३८ करोड १२ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८ दशमलव ३१ प्रतिशत हो ।

त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकामा १६ दशमलव तीन प्रतिशत अर्थात् ४९ अर्ब २३ करोड ५८ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्थामा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा २६ दशमलव दुई प्रतिशत अर्थात् ८० अर्ब ४३ लाख बराबर खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?