बिहीबार, २१ मंसिर २०८०
4140 views
4140 views
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१ औं महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासहितको टोलीसमेत स्वदेश फिर्ता भएको हो ।
उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गरे ।
महासभाबाट इन्टरपोलको १९६औं सदस्य राष्ट्रको रुपमा द रिपब्लिक अफ पलाउलाई मान्यता प्रदान गरिएको छ । महासभाले इन्टरपोलको ९२औं महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औं महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ ।