२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

राजा प्रताप र श्रीनिवासको विद्रोह जोडिएको घोडेजात्रा

नागरिक पोष्ट

सोमबार, २६ चैत्र २०८०

1582 views

1582 views

राजा प्रताप र श्रीनिवासको विद्रोह जोडिएको घोडेजात्रा

काठमाडौं। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडे जात्राको मूल नाम पाहाँ चह्रे हो।  परापुर्वकाल देखि नै चलिआएको यस जात्राको आफ्नै विशेषता छ।

धेरै वर्ष पहिले टुँडिखेलको पूर्व–दक्षिण भागमा रहेको एउटा रूखमा बस्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको जनविश्वास रहिआएको छ। स्थानीयवासीले बालबालिकालाई बचाउनका लागि अनेकौ जुक्ती लगाएर त्यस राक्षसको संहार गरेपछि प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाइन्छ। घोडा दौडाएर गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाएपछि उक्त आत्म फेरि विउझिदैन भन्ने विश्वास रहेको छ।

यो संगै अर्को एउटा इतिहास पनि जोडिएकोे छ।

टुँडिखेलको जात्रा हेर्नका लागि पाटनका नागरिकहरू काठमाडौँ आउने र काठमाडौंका नागरिकहरू मछिन्द्रनाथको रथयात्रा लगायत अन्य जात्रा हेर्न ललितपुर जाने गर्थे। यस्तै अन्य थुप्रै जात्राहरू एकआपसमा मिलेर गर्ने प्रचलन थियो। तर घोडे जात्रा टुँडिखेलमा भव्यताका साथ आयोजना हुँदाहुँदै पनि पाटनको भोलाख्यःमा समेत घोडे जात्रा मनाउने गरिन्छ।

घोडे जात्रामा राजा प्रताप मल्ल र श्रीनिवास मल्लको नाम जोडिने गर्छ।

मल्ल वंशको सबैभन्दा शक्तिशाली राजा हुन् प्रताप मल्ल। कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्लका माहिला छोराका रुपमा वि।सं। १६८० मा जन्मिएका हुन्। उनले वि।स।१६९८ देखि १८–१९ वर्षको उमेरबाटै कान्तिपुरमा शासन सुरु गरे। उनले १७३१ सम्म ३३ वर्ष शासन चलाएका हुन्।

आफ्नै बाबु लक्ष्मीनरसिंहलाई बन्दी बनाई राजा भएका प्रताप मल्लको उपत्यकाभित्रका अन्य राज्यहरूसँग राम्रो समबन्ध नभएपनि पाटनका राजा श्रीनिवास मल्लसँग सुरुमा राम्रै सम्बन्ध रहेको थियो।

वि सं १६८४ मा राजा सिद्धिनरसिंह मल्लका छोराका रुपमा श्रीनिवास मल्लको जन्म भएको हो। श्रीनिवास मल्लले वि सं १७१५ मा आफ्ना बाबुको विरुद्ध विद्रोह गरी वि।सं १७१७ मा ललितपुरको राजा भएका हुन्। उनलाई बाबुसंग विद्रोह गर्न कान्तिपुरका राजा प्रताप मल्लले नै उस्काएका थिए।

राजा प्रताप मल्लले पहिले पाटनमा गृहयुद्ध गराए त्यसपछि त्यहाँका राजा श्रीनिवास मल्लको सहयोगमा भक्तपुर माथि आक्रमण गरे। भक्तपुरको आक्रमणपछि उपत्यका भित्रका राजाहरूको मनमा एकाआपसमा शङ्का उत्पन्न हुन थाल्यो र षड्यन्त्रपूर्ण गतिविधि र विद्रोह आरम्भ भयो। प्रताप मल्लले १७२८ मा श्रीनिवास मल्लकै सहयोगमा भक्तपुरको नाला भन्ने ठाउँ विजय गरे।

त्यसको केहि समयपछि भक्तपुरले पाटनको सहयोग लिई पुनः त्यहाँ कब्जा गर्यो। त्यतिबेला भक्तपुर माथि संयुक्त रूपमा आक्रमण गर्दा उक्त युद्धमा कान्तिपुरलाई पाटनले सहयोग नदिएपछि राजा प्रताप मल्ल र श्रीनिवास मल्लबीच मनमुटाव बढ्यो।

कान्तिपुर र पाटनका राजाबीच मनमुटाव भएपछि पाटनका नागरिक काठमाडौंमा घोडेजात्रा हेर्न नजाऊन् भनी पाटनको भोलाख्यः टोलमा एउटा घोडा दौडाउने चलन सुरु गरिएको भन्ने किंवदन्ती रहेको छ। पाटनका राजा श्रीनिवास मल्लले पाटनमा घोडेजात्राको शुरुवात गरे। पटनको जात्रा काठमाडौंको जस्तो भव्य र रौनकपूर्ण नभएपनि पाटनको आत्मसम्मान र आत्मनिर्भरताका लागि उपयुक्त मानिएको थियो।

यसरी राजा श्रीनिवासले शुरु गराएको पाटनको घोडेजात्रा अहिलेसम्म पनि प्रत्येक वर्ष नियमितरुपमा एकल घोडे जात्रा मनाइँदै आएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौंको टुँडिखेलमा र पाटनको भोलाख्यः मा यो जात्रा मनाउने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका