४ जेष्ठ २०८१, शुक्रबार

ताजा खबर

२ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने: काठमाण्डाै महानगरपालिका

नागरिक पोष्ट

बुधबार, १९ बैशाख २०८१

2483 views

2483 views

२ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने: काठमाण्डाै महानगरपालिका

२ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले आज विश्व मजदुर दिवसको अवसरमा पारेर तालिम कार्यक्रम थालनी गर्दैछ ।

‘सिप मेला २०८१’ नामबाट सञ्चालन हुने तालिमका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, सिपयुक्त जनशक्तिको माग र आपूर्तिका बिचमा ठूलो खाडल रहेको उल्लेख गर्दै, रोजगारदातालाई सिपयुक्त जनशक्ति उपलब्ध हुने, युवाहरुलाई योग्यताअनुसारको रोजगार प्राप्त हुने वातावरणका लागि सिपमूलक तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।

‘आन्तरिक रुपमै रोजगारीका थुप्रै सम्भावना छन् भन्ने देखाउनु, सिप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रुपान्तरण गराउनु तालिमको लक्ष्य हो ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘तालिममा सहभागी सबैलाई ‘रोजगार’, ‘स्वरोजगार’ वा ‘अन द जब टे«निङ्, ओजेटी’ मध्ये एउटा विधामा आवद्ध गराउने निश्चित गरेर तालिम थालनी गर्दैछौँ ।’

कार्यक्रममा महानगरपालिकाका सहप्रवक्ता दीपक अधिकारीले, तालिम तालिकाका बारेमा बारेमा जानकारी गराउँदै तालिम गराउन इच्छा भएका तर अनलाइन फाराम भर्न छुटेका व्यक्तिहरु तालिम स्थलमै आएर फाराम भर्न सक्ने बताउनुभयो ।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य हो । १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउनु कार्यक्रमका क्रियाकलाप हुन् ।

व्यावसायिक सिपका विषयमा जागरण सिर्जना हुने, समुदाय स्तरमा तालिम सञ्चालनको वातावरण निर्माण हुने, रोजगारी र उद्यमशीलताका लागि युवाहरुमा क्षमता विकास हुने अपेक्षा गरिएको छ ।

सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका