१७ बैशाख २०८१, सोमबार

ताजा खबर

सुरक्षित इन्टरनेट दिवस २०८० नेपालमा मनाइयो

नागरिक पोष्ट

बिहीबार, २५ माघ २०८०

2415 views

2415 views

सुरक्षित इन्टरनेट दिवस २०८० नेपालमा मनाइयो

राम्रो र सुरक्षित इन्टरनेटको लागि साथसाथ” नाराकासाथ यस वर्षको सुरक्षित इन्टरनेट दिवस नेपालमा र विश्वका १७० भन्दा बढी मुलुकमा मनाइयो । राष्ट्रिय बाल अधिकार परिषद् र चाइल्डसेफनेटले जेनुइन सेकेन्डरी स्कुल र वल्र्डलिङ्कको सहकार्यमा ६ फेब्रुवरी २०२४ का दिन भक्तपुरमा एक मनोरञ्जनात्मक सचेतना कार्यक्रम गरि सुरक्षित इन्टरनेट दिवस मनायो । भक्तपुरस्थित जेनुइन माध्यामिक विद्यालयमा आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता परिषद्का सदस्य–सचिव तथा सुरक्षित इन्टरनेट दिवसको नेपाल समन्वय समितिका अध्यक्ष इन्द्रादेवी ढकालले गर्नुभएको थियो । नेपालमा बालबालिका विरुद्ध हुने अनलाईन अपराधको तथ्यांक साझा गर्दै उहाँले बालबालिकालाई अनलाइनबाट समेत जोगाउनु आवश्यक रहेको बताउनु भयो । उहाँले भनिन्, ‘प्रविधि आफैमा नराम्रो होइन । हामीले प्रविधिको सुरक्षित प्रयोगमा चेतना जगाउन आवश्यक छ र परिषद् बालबालिकालाई अनलाइनमा सुरक्षित राख्न प्रतिबद्ध छ ।

जेनुइन माध्यामिक विद्यालयका विद्यार्थीहरूले अनलाइन सुरक्षाको बारे सचेतना जगाउनसचेतनामूलक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । उनीहरूले अनलाइन सुरक्षा क्विज र बहसमा पनि भाग लिएका थिए । प्रख्यात कलाकार यमन श्रेष्ठले अनलाइन सुरक्षा सचेतनामूलक गीत प्रस्तुत गर्दै आफ्ना मिठा गीतहरू सुनाएर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा १० भन्दा बढी विद्यालयका ८०० भन्दा बढी बालबालिका तथा शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा भक्तपुर नगरपालिकाका वडा सदस्य ९वडा १० र ५०, समाजसेवी तथा अभिभावकहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा युनिसेफ नेपालका बाल संरक्षण प्रमुख डान रोनोले भन्नु भयो, “सुरक्षित इन्टरनेटले बालबालिकालाई सिक्न र आफूलाई रचनात्मक रूपमा अभिव्यक्त गर्न मद्दत गर्छ र बालबालिकालाई अनलाइनमा पनि सुरक्षा गर्ने जिम्मेवारी हामी सबैको हो ।
सहभागीहरूलाई स्वागत गर्दै चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले भन्नु भयो, “सुरक्षित इन्टरनेट दिवसले हामीलाई प्रविधिको सकारात्मक प्रयोग र बालबालिकालाई अनलाइन सुरक्षित गर्न हामी सबै मिलेर कसरी काम गर्न सक्छौँ भन्ने बारेमा कुरा गर्ने राम्रो अवसर प्रदान गर्दछ ।ू जेनुइन माध्यमिक विद्यालयका प्रिन्सिपल अनन्त घिमिरेले शिक्षाका लागि सुरक्षित इन्टरनेट धेरै महत्त्वपूर्ण भएको र विद्यालयहरूले बालबालिकालाई सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्न सिकाउनु पर्ने बताए ।

सन् २००४ देखिँ हरेक वर्ष फेब्रुवरी महिनामा विश्वव्यापी रुपमा सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको भएता पनि नेपालमा सन् २०१९ देखिँ मात्र चाइल्डसेफनेटको पहलमा यस दिवस मनाउन थालिएको हो । बालबालिका तथा युवावर्गका लागि सुरक्षित इन्टरनेटको लागि कार्यरत विशिष्टिकृत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखिँ नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ ।

अनलाइनमा बालबालिकालाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम संचालन गर्नका लागि सुरक्षित इन्टरनेट दिवसलाई अझ बढी प्रभावकारी र व्यापक बनाउन नेपालमा यसै वर्ष सुरक्षित इन्टरनेट दिवस समन्वय समिति गठन भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषद्को सदस्य–सचिवको अध्यक्षतामा गठित यस समन्वय समितिमा चाइल्डसेफनेटले सचिवालयको भूमिका निर्वाह गरेको छ ।

यस वर्ष सुरक्षित इन्टरनेट दिवस माघ २३ गते मनाइने भएता पनि चाइल्डसेफनेट र सहकर्मी संस्थाहरुले देशका विभिन्न भागहरूमा अनलाइन सुरक्षा सचेतना कार्यक्रमहरु सञ्चालन गर्नेछन् ।
संयुक्त राष्ट्रसंघीय निकाय, आईएनजीओ, गैरसरकारी संस्था, सामुदायिक संस्था, निजी क्षेत्र र सञ्चारगृह लगायतका चवालीस वटा संस्थाले सुरक्षित इन्टरनेट दिवसको प्रवर्धन गर्न ऐक्यबद्धता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका