१२ श्रावण २०८१, शनिबार

ताजा खबर

चितवनमा बिहानैदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन

नागरिक पोष्ट

मंगलवार, २९ जेष्ठ २०८१

1769 views

1769 views

चितवनमा बिहानैदेखि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन

चितवन । चितवनमा दैनिक बिहान ७ बजेदेखि नै राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन गर्न थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बजेबाट अपराह्न ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु गरेको हो ।


कार्यालयका सूचना अधिकारी अन्तिम सिंजालीका अनुसार आगामी असार मसान्तसम्म बिहान ७ बजेबाट विवरण सङ्कलन गर्न लागिएको हो ।

परिचयपत्रको विवरण सङ्कलन गर्न आउने सेवाग्राहीको चाप बढेपछि एक महिनाका लागि समय थप गरी सेवा दिन लागिएको उनको भनाइ छ ।


जिल्लामा चालु आर्थिक वर्षको वैशाखसम्ममा २८ हजार पाँच सय ६० जनाले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गराएका छन् ।

सोवाग्राहीको चाप बढेसँगै एक महिनाका लागि अभियानका रूपमा बिहानबाट नै सेवा दिन थालिएको जनाउँदै उनले भीड कम नभए अभियानलाई निरन्तरता दिइने बताए ।

उनले परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेसँगै फोटो खिच्ने ‘स्टेशन’ थप गरिएको बताए । पहिला चारवटा मात्रै ‘स्टेशन’बाट सेवा दिइएकामा अहिले थप गरेर पाँचवटा बनाउँदा समेत चाप कम हुन नसकेको उनले बताए ।

सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषसँगै वैदेशिक प्रयोजन र अन्य कामका लागि परिचयपत्र आवश्यक पर्ने भएपछि सेवाग्राहीको चाप बढेको उनको भनाइ छ ।

परिचयपत्रको भीडले गर्दा अन्य सेवामा समेत प्रभाव पारेको भन्दै उनले हरेक पालिकामा शिविरको रूपमा अभियान चलाउने सोचमा प्रशासन रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका