२ जेष्ठ २०८१, बुधबार

ताजा खबर

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

नागरिक पोष्ट

सोमबार, १७ बैशाख २०८१

1446 views

1446 views

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको कामलाई अगाडि बढाएको छ ।

सङ्घीय राजधानी काठमाडौँबाट पाँच घण्टाको सडकमार्गबाट पुगिने गङ्गाजमुना भित्र रहेको प्राकृतिक सम्पदा र विभिन्न जातजातिको संस्कृति मार्फत पर्यटन प्रवर्द्धनको कामलाई अगाडि बढाइएको हो ।


पछिल्लो समय जथाभावी रुपमा स्थानीय निकायले मोटरबाटो खनेर पदमार्ग मासिरहेका बेला गङ्गाजमुनाले भने गाउँपालिकाभित्रका सातवटै वडा जोड्ने गरी नयाँ पदमार्गको कामलाई अगाडि बढाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्न अगाडि बढाइएको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को प्रवर्द्धनात्मक तथा अन्वेषणात्मक कार्य सुरु गरिएको छ ।


गङ्गाजमुना गाउँपालिका र ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान०ले सुरु गरेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को प्रवर्द्धनात्मक तथा अन्वेषणात्मक कामको आइतबार सोही गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले शुभारम्भ गरे ।

गोरखाको आरुघाट गाउँपालिका–४ आर्खेत बजारदेखि बुढाथुम–बाथलडाँडा–लामोपुल–बसेरी–भैँसे–तीनसुरे–पोखराडाँडा–री–गुम्दी हुँदै फूलखर्क जोड्ने उक्त पदमार्गको बुढाथुममा भव्य समारोहबीच शुभारम्भ गरिएको हो ।

गाउँपालिका अध्यक्ष लामाले धार्मिक, सांस्कृतिक एवं प्राकृतिक महत्व भएको गङ्गाजमुनामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न उक्त पदमार्गलाई अगाडि बढाइएको बताए ।

यसअघि धादिङको रुवी भ्याली र गोरखाको चुम भ्यालीलाई जोड्ने वैकल्पिक पदमार्गका रूपमा उक्त पदमार्गलाई खोज, अनुसन्धान, ‘डिजाइन’, योजना निर्माण एवम् प्रवर्द्धन गर्न गाउँपालिकाले टानसँग सम्झौता गरेको थियो

सम्झौतासँगै टानले गङ्गाजमुना तीनसुरे पदमार्गको ‘ट्रेल प्रोफाइल’ प्रतिवेदन, पदमार्ग विकास तथा प्रवर्द्धन योजना, पदमार्गको नयाँ नक्सा प्रकाशित, पदयात्रा मार्ग प्रवर्द्धनात्मक वृत्तचित्र निर्माण,  पदमार्गमा पर्यटन सूचना ‘साइनबोर्ड’ राख्नेलगायतका काम गरिने टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहालले बताए ।

गङ्गाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ गङ्गाजमुनाको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न चालु आर्थिक वर्ष २०८०–८१ मा ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका