३१ बैशाख २०८१, सोमबार

ताजा खबर

बिकराल बन्दैछ पाठेघरको मुखको क्यान्सर : संक्रमण रोक्न एचपीभी खोप प्रभावकारी हुने

नागरिक पोष्ट

शुक्रबार, ९ चैत्र २०८०

7328 views

7328 views

बिकराल बन्दैछ पाठेघरको मुखको क्यान्सर : संक्रमण रोक्न एचपीभी खोप प्रभावकारी हुने

काठमाडौं । 

आजभोली स्वास्थ्य संस्थामा पुग्ने धेरै जसो महिलामा पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यो समस्या महिलामा विकरालरूपमा देखिएको छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापपिलोमा भाइरस (एचपीभी) एउटा भाइरसको संक्रमणका कारण लाग्ने गर्छ । साथै, धेरै पुरुषसँग सम्पर्क राख्दा पनि यो रोग लाग्छ भने कम उमेरमा धेरै सन्तान जन्माउने महिलाहरूमा पनि यस्तो समस्या देखिने गर्छ । जुनसुकै अंगमा सामान्य भन्दा धेरै कोषीका बढ्नु राम्रो होइन, यो हुनु भनेको क्यान्सर हो ।

पाठेघरमा पनि असामान्यरूपमा कोषहरू वृद्धी हुँदा क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन् प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा वर्षेनी दुई हजार देखि तीन हजार महिलाको मृत्यु हुने गरेको छ ।

के हो एचपीभी ?

ह्युमन प्यापिलोमा (एचपीभी) एउटा भाइरस हो । यो सानो र सामान्य डीएनए भाइरस हो । यसले शरीरका भित्री अङ्गको सतहमा हुने झिल्लीमा रहेको कोशिकामा सङ्क्रमण गर्छ ।

अहिलेसम्मको अध्ययन अनुसार महिलाहरूको पाठेघरमा लाग्ने क्यान्सरको प्रमुख कारण एचपीभी हो । यसका अनगिन्ती प्रजातिहरू हुन्छन् । पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९५ प्रतिशत बढी क्यान्सर यसले गराउँछ । सामान्यतया यसको सङ्क्रमणले कुनै लक्षण देखाउँदैन । तर, कुनै कुनैले भने शरीरमा ‘मुसा’ उत्पन्न गराउँछ । संक्रमण भएको बेलैमा थाहा नहुँदा शरीरको प्रतिरोध प्रणालीले कुनै उपचारबिना नै भाइरस सखाप पारिदिन्छ ।

यो भाइरस छालाको सम्पर्कबाट सर्छ । अझै भन्नुपर्दा यौन क्रियाकलापको माध्यमबाट महिलामा सर्ने गर्दछ । तर, यो संक्रमित व्यक्तिको यौनांगको छाला श्लेष्म झिल्ली (म्युकस मेम्ब्रेन) वा तरल पदार्थ (सेक्रेसन)सँगको सम्पर्क मार्फत् पनि सर्ने हुन्छ । यसको संक्रमण पुरुष र महिला दुवैमा हुन्छ ।

लक्षणहरू के हुन् ?

सुरुमा त यो संक्रमण भएको धेरैलाई थाहै हुँदैन । तर, बिस्तारै तल्लो पट दुख्ने, अनियमित रुपमा रगत बग्ने, गन्हाउने पानी बग्ने लक्षणहरू देखा पर्दछन् ।
यसको संक्रमण भएको आफैं थाह हुँदैन । यसका लागि स्वास्थ्य संस्थामा गइ पाठेघरको मुखको पानीको परीक्षण गर्नुपर्छ ।

कसरी हुन्छ रोकथाम ?

यो संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने भएकाले सुरक्षित तबरले सम्पर्क राख्नुपर्छ । यो संक्रमणबाट बच्ने भरपर्दो उपचार भनेको एचपीभी विरुद्धको खोप नै हो । यौन सम्पर्क राख्ने उमेर भन्दा पहिले नै किशोरीलाई खोप लगाउनुपर्छ ।

यो खोप लगाउँदा कुनै असर पर्छ ?

कुनैपनि खोप लगाउँदा कतिपयलाई यसले असर गर्छ । प्रायः खोप लगाइसकेपछि ज्वरो आएको महसुस हुन्छ । एचपीभी खोपले पनि किशोरीहरूमा केही समस्या देखिन सक्छन् ।

यो खोप लगाइसकेपछि खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिँगटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्सन हुने हुन्छ ।

यी असरहरू सामान्य हुने भएकाले पछि आफैं निको हुन्छ । तर, यस्ता असरहरू रहिरहेमा वा गम्भीर लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका