१८ बैशाख २०८१, मंगलवार

ताजा खबर

डरलाग्दो ‘साइबर दास’को घटना : रवि जो आइटी जागिरको लोभमा अपहरणमा परेर, लामो यातना र लाखौं फिरौतीमा यसरी छुटे

नागरिक पोष्ट

मंगलवार, २७ चैत्र २०८०

4642 views

4642 views

डरलाग्दो ‘साइबर दास’को घटना : रवि जो आइटी जागिरको लोभमा अपहरणमा परेर, लामो यातना र लाखौं फिरौतीमा यसरी छुटे

श्रीलंकाका २४ वर्षीय रवि आईटी जागिरका लागि थाइल्याण्ड गएका थिए । तर, बैंककको अग्लो कार्यालयमा बसेर काम गर्नुको सट्टा उनी म्यानमारको अँध्यारो कम्प्लेक्समा फसेका थिए ।
रविको अपहरण भएको थियो । त्यसपछि उनलाई थाइल्यान्डको सीमावर्ती सहर ‘मे सोट’ नजिकै नदी पारी लगिएको थियो । 

उनी भन्छन्, ‘त्यहाँ मलाई अनलाइन घोटाला गर्ने चिनियाँ भाषी मानिसहरूका लागि धेरै शिविरहरू मध्ये एउटामा बेचिएको थियो ।’ ती शिविरमा रविजस्ता तस्करीको शिकार भएका पीडितहरूलाई लामो समय काम गर्न बाध्य पारिन्छ ।

यी पीडितहरूको नक्कली अनलाइन परिचय बनाइन्छ र महिलाको रूपमा प्रस्तुत गरिन्छ ।

तिनीहरूको काम अमेरिका र युरोपका एकल पुरुषहरूलाई धोका दिने हो ।

एक पटक उनीहरूको ‘कमजोर लक्ष्य’ फेला परेपछि उनीहरूलाई छिटो प्रतिफलको झूटो वाचा गरेर नक्कली व्यापारिक प्लेटफर्ममा ठूलो रकम लगानी गर्न विश्वस्त पारिन्छ ।

रवि जुन साइबर दासत्वको क्याम्पमा फसे, त्यो म्यानमारको म्यावाड्डी नजिकैको जंगलमा बनाइएको थियो । त्यो त्यस्तो क्षेत्र हो जसमा म्यानमारको सैन्य सरकारको प्रत्यक्ष नियन्त्रण छैन ।

इन्टरपोलका अनुसार एसिया, पूर्वी अफ्रिका, दक्षिण अमेरिका र पश्चिम युरोपका हजारौं युवा–युवतीलाई कम्प्युटरसम्बन्धी कामको प्रलोभनमा राखेर ‘साइबर अपराधी’ शिविरमा फसाइने गरिएको छ ।

जसले उनीहरूको आदेश मान्दैनन्, तिनलाई मारपिट र बलात्कार पनि गरिन्छ।

रविले भने, ‘ उनीहरूले भनेको नमानेका कारण मैले १६ दिन एउटा कोठरीमा बिताएँ, उनीहरूले मलाई पिउन दिएको पानीमा चुरोटको टुक्रा र खरानी मिसाइएको थियो।’

उनले थप भने, ‘म कोठरीमा बसेको ५–६ दिन भएको थियो, त्यो बेला छेउको कोठरीमा दुईजना केटीलाई ल्याइयो, उनीहरूलाई मेरो आँखा अगाडि १७ जनाले बलात्कार गरेका थिए, तीमध्ये एक फिलिपिन्सकी थिइन् ।अर्को पीडित युवतीको देश मलाई थाहा भएन ।’

तस्करीको सिकार को–को हुँदैछन् ?

संयुक्त राष्ट्रसंघले अगस्ट २०२३ मा म्यानमारमा १.२० लाखभन्दा बढी र कम्बोडियामा १ लाख मानिसलाई विभिन्न प्रकारका अनलाइन घोटाला गर्न बाध्य पारिएको अनुमान गरेको थियो ।

संयुक्त राष्ट्रसंघका अनुसार तिनीहरू अवैध जुवादेखि क्रिप्टोकरेन्सी जालसाजी र अनलाइन घोटालासम्मका गतिविधिहरूमा प्रयोग भइरहेका छन् ।

गत वर्ष इन्टरपोलको रिपोर्ट अनुसार लाओस, फिलिपिन्स, मलेसिया, थाइल्याण्ड र भियतनाममा अनलाइन ठगी केन्द्रहरू थिए । इन्टरपोलका प्रवक्ताले यो प्रवृत्ति अहिले विश्वव्यापी सुरक्षाका लागि खतराभन्दा पनि क्षेत्रीय समस्या बनेको बताए ।

संगठनका अनुसार अन्य धेरै देश ठगीको केन्द्र, ठगीको मार्ग वा मानिसको तस्करी हुने ठाउँ बनेका छन् । यस महिनाको सुरुमा भारत सरकारले अहिलेसम्म कम्बोडियामा बेचबिखन गरिएका २५० नागरिकलाई उद्धार गरिएको जनाएको छ ।

मार्चमा चीनले म्यानमारका यी केन्द्रहरूबाट सयौं नागरिकहरूलाई स्वदेश फिर्ता गर्न सफल भयो । चीनले यी ठगी केन्द्रहरू बन्द गर्न म्यान्मारको सैन्य सरकार र सशस्त्र समूहहरूलाई दबाब दिइरहेको छ ।

श्रीलंकाका अधिकारीहरूका अनुसार उनीहरूले आफ्ना कम्तीमा ५६ जना नागरिकका बारेमा पत्ता लगाएको छ जो म्यानमारका चार फरक ठाउँमा फसेका छन् ।

म्यानमारका लागि श्रीलंकाका राजदूत जनक बन्दाराले बीबीसीलाई भने– यीमध्ये आठ जनाको हालै म्यानमार अधिकारीहरूको सहयोगमा उद्धार गरिएको थियो।

यी शिविरहरू चलाउने मानिसहरूको सिकार हुने प्रवासी मजदुरहरूको कुनै कमी छैन । दक्षिण एसियाबाट हरेक वर्ष लाखौं इन्जिनियर, डाक्टर, नर्स र आईटी विशेषज्ञहरू कामको खोजीमा विदेश पलायन हुन्छन् ।

कम्प्युटर विशेषज्ञ रवि आफ्नो देशको अर्थतन्त्र संकटमा परेको कारण श्रीलंका छाड्न आतुर थिए । यस्तो बेला उनले थाइल्याण्डको राजधानी बैंककमा डाटा इन्ट्रीको काम अफर गर्ने स्थानीय एजेन्टको बारेमा थाहा पाए ।

भर्ती गर्ने एजेन्टले दुबईका एक सहकर्मीसँग मिलेर उनलाई कम्पनीले ३,७०,००० श्रीलंकाली रुपैयाँ (१,२०० डलर) आधारभूत तलब दिने आश्वासन दिए । भर्खरै विवाह गरेका रवि र उनकी श्रीमतीलाई यो जागिरले आफ्नै घर बनाउन सकिन्छ भन्ने लागेको थियो । त्यसैले, उनलेले एजेन्टलाई दिन धेरै ऋण लिए ।

थाइल्याण्डदेखि म्यानमारसम्मको यात्रा

२०२३ को सुरुमा रवि र अन्य श्रीलंकालीहरूको समूहलाई पहिलो पटक बैंकक पठाइएको थियो । त्यसपछि उनलाई पश्चिमी थाइल्याण्डको माई सोट सहर पठाइयो ।

‘हामीलाई एउटा होटेलमा लगियो। त्यसपछि हामीलाई चाँडै दुई बन्दुकधारीहरूलाई सुम्पियो । उनीहरूले हामीलाई नदी पारी म्यानमार लगे,’ रविले भने ।

त्यसपछि उनीहरूलाई चिनियाँ भाषी गुण्डाहरूद्वारा सञ्चालित शिविरमा पठाइयो।

रविका अनुसार उनीहरू डराएका थिए । श्रीलंका, पाकिस्तान, भारत, बंगलादेश र अफ्रिकी देशका करिब ४० जना युवक र युवतीलाई जबरजस्ती त्यो शिविरमा राखिएको थियो। परिसर वरिपरि अग्लो पर्खाल र काँडेतार लगाइएको थियो र प्रवेशद्वारलाई बन्दुकधारीले चौबीसै घण्टा सुरक्षा दिएका थिए ।

रवि र अरूलाई दैनिक २२ घण्टा काम गर्न बाध्य पारिएको थियो । महिनामा एक दिनमात्रै बिदा हुन्थ्यो । र, हरेक दिन कम्तिमा तीन जनालाई पीडित बनाउने उनीहरूको अपेक्षा हुन्थ्यो । जसले उनीहरूले भनेको मान्दैनथे उनीहरूले यातना सहनुपर्थ्यो या बच्नका लागि पैसा तिनुपर्थ्यो ।

भारतको महाराष्ट्रका २१ वर्षीय नील विजयलाई पनि यस्तै गरिएको थियो । उनलाई अगस्ट २०२२ मा फिलिपिन्सका अन्य पाँच भारतीय पुरुष र दुई महिलासहित तस्करी गरि म्यानमार लगिएको थियो ।

नील विजयले उनकी आमाका एक साथीले उनलाई बैंककको कल सेन्टरमा जागिर दिने वाचा गरेको बताए । र, एजेन्टको शुल्कको रूपमा उनीबाट १.५० लाख (१८ सय डलर) लिए ।

नीलले भने, ‘चिनियाँ भाषा बोल्नेहरूले धेरै कम्पनीहरू चलाइरहेका थिए, तिनीहरू सबै घोटाला गर्नेहरू थिए, हामीलाई ती कम्पनीहरूमा बेचियो । जब हामी त्यहाँ पुग्यौं, मैले आशा गुमाए । यदि मेरी आमाले उनीहरूलाई फिरौतीको पैसा नदिनुभएको भए, मलाई पनि अरूलाई जस्तै यातना दिइन्थ्यो ।’

यो घोटालामा भाग लिन अस्वीकार गरेपछि नीलको परिवारले घोटाला गर्नेलाई ६ लाख भारतीय रुपैयाँ (७२ सय डलर) तिरे । तर, त्यहाँबाट रिहा हुनुअघि नै लक्ष्य पूरा नगरेको वा फिरौती नतिर्नेलाई क्रूर सजाय दिइने गरिएको थियो ।

उनको रिहाईपछि थाई अधिकारीहरूले उनलाई भारत फिर्ता गर्न मद्दत ग रे। यता, उनका परिवारले उनलाई भर्ना गर्ने स्थानीयलाई कानुनी कारबाही गरेका छन् ।

थाई अधिकारीहरूले त्यस्ता पीडितहरूलाई उनीहरूको देशमा फिर्ता पठाउन अन्य देशहरूसँग काम गरिरहेका छन् । तर, त्यहाँको न्याय मन्त्रालयका एक वरिष्ठ अधिकारीले छिमेकी देशहरूमा चलिरहेका शिविरहरूमा फसेका मानिसहरूको तुलनामा उद्धार गरिएका मानिसहरूको सङ्ख्या निकै कम रहेको बताए ।

थाइल्याण्डको विशेष अनुसन्धान महाशाखाका उपनिर्देशक पिया रक्सकुलले भने, ‘यी आपराधिक गिरोहहरूका बारेमा सचेतना जगाउनका लागि हामीले विश्वसँग सञ्चार बढाउन अझ धेरै गर्न आवश्यक छ ताकि तिनीहरूले आफूलाई पीडित हुनबाट जोगाउन सकून् ।’

उनी भन्छन्– मानव तस्करहरूले मानिसहरूलाई ल्याउन बैंककलाई केन्द्रको रूपमा प्रयोग गर्छन् । किनभने ‘भिसा अन अराइभल’ को सुविधाका कारण भारत, श्रीलंकालगायत धेरै देशका मानिस सजिलै थाइल्याण्ड आउन सक्छन् ।

अपराधीहरूले यो सुविधाको फाइदा उठाएर मानिसहरूलाई काममा लैजान तस्करी गर्ने गरेको उनले बताए ।

यी ठगहरूले कसरी काम गर्छन् ?

चोरीको फोन नम्बर, सामाजिक सञ्जाल र म्यासेजिङ प्लेटफर्मबाट रोमान्टिक सम्बन्ध बनाएर पश्चिमा देशका धनी व्यक्तिलाई निशाना बनाउनका लागि उनीहरूले भन्ने गरेको रविले बताए ।

उनले पीडितहरूसँग प्रत्यक्ष सम्पर्क गर्थे । पहिला उनीन ती व्यक्तिलाई पहिलो सन्देश ‘हाई’ गल्लीले सेन्ड भएको भनेर विश्वास दिलाउँथे ।

रवि भन्छन्, ‘कतिपयले मेरो म्यासेजलाई बेवास्ता गर्थे, तर एक्लै बस्ने वा सेक्स चाहने मानिसहरू यसमा फसेका थिए ।’

उनीहरूबाट जवाफ पाएपछि शिविरमा रहेका युवतीहरुलाई थप लोभ्याउन यौनजन्य तस्बिर पठाउन बाध्य पारिएको थियो ।

केही दिनभित्र सयौं सन्देशहरू आदानप्रदान गरेपछि घोटाला गर्नेहरूले यी मानिसहरूको विश्वास प्राप्त गर्थे । त्यसपछि उनीहरूलाई नक्कली अनलाइन ट्रेडिंग प्लेटफर्ममा ठूलो रकम लगानी गर्न मनाइन्थ्यो । त्यसपछि यी नक्कली एपहरूले उनीहरूलाई लगानी र नाफाको बारेमा गलत जानकारी दिन्थ्यो ।

रवि भन्छन्, ‘कसैले १ लाख डलर ट्रान्सफर गरेमा यो आफ्नो नाफा हो भन्दै ५० हजार डलर फिर्ता गर्थ्यौं । यसले गर्दा अहिले डेढ लाख डलर छ जस्तो उनीहरूलाई लाग्थ्यो । वास्तवमा, तिनीहरूले आफ्नो प्रारम्भिक १ लाखको आधा मात्र पाउँथे, बाँकी आधा हामीसँग हुन्थ्यो ।’

यति धेरै विश्वास निर्माण गरेपछि घोटाला गर्नेहरूले पीडितहरूलाई सकेसम्म शोषण गर्छन्, त्यसपछि तिनीहरूले खाता र सोशल मिडिया प्रोफाइलहरू स्वतः गायब बनाउँछन् ।

यो ठगी व्यवसायको आकार पत्ता लगाउन गाह्रो छ ।

तर, एफबीआईले आफ्नो सन् २०२३ को इन्टरनेट क्राइम रिपोर्टमा अमेरिकामा यस्ता ‘ट्रस्ट वा रोमान्स’ घोटालाका १७ हजारभन्दा बढी उजुरी आएको बताएको छ । यी गुनासोअन्तर्गत कुल घाटा रकम करिब ६५ करोड डलर रहेको बताइएको छ ।

मानसिक र शारीरिक घाउहरू

एक महिना जेल बसेपछि आफूलाई अर्को गिरोहमा बेचेको रविले बताए । किनभने उनले काम गरेको ‘कम्पनी’ बन्द भइसकेको थियो । उनी ६ महिनासम्म म्यानमारमा फसेका थिए र त्यही क्रममा उनलाई तीनवटा विभिन्न गिरोहमा बेचिएको थियो ।

उनले आफ्ना नयाँ ग्याङ्मास्टरहरूलाई अब आफ्रले अरु मान्छेलाई धोका दिन नसक्ने र उनलाई उनलाई श्रीलंका फर्कन अनुमति दिनुपर्ने बताएका थिए ।

एक दिन यही विषयमा उनको टोली नेतासँग झगडा भयो । त्यसपछि रविलाई कोठरीमा लगेर १६ दिनसम्म यातना दिइयो ।

अन्ततः उनको ‘चिनियाँ हाकिम’ ले रविलाई भेटे । उननले रविलाई फेरि काम गर्ने एक अन्तिम मौका दिए । रविले भने, ‘मसँग विकल्प थिएन । त्यतिन्जेलसम्म मेरो आधा शरीर अपंग भइसकेको थियो ।’

अर्को चार महिनासम्म रविले भीपीएन, आर्टिफिसियल इन्टेलिजेन्स एप्स र थ्रीडी भिडियो क्यामेराको सहयोगमा फेसबुक एकाउन्ट व्यवस्थापन गरे । यसैबीच, रविले आफ्नी बिरामी आमालाई भेट्न श्रीलंका जाने अनुमति मागे ।

गिरोहका नेताले रविसामु ६ लाख भारु (२ हजार डलर) फिरौती र नदी तरेर थाइल्याण्ड जान दुई लाख भारु (६५० डलर) तिर्ने सर्त राखे । रविका बाबुआमाले घर धितो राखेर फिरौती तिरे । त्यसपछि उनलाई माई सोत लगियो ।

भिसा नपाएका कारण उनलाई विमानस्थलमा २० हजार थाई बाट (५५० डलर) जरिवाना समेत गरिएको थियो । यसका लागि रविका बाबुआमाले अर्को ऋण लिनुपर्ने भयो । रविका अनुसार जब उनी श्रीलंका पुगे तब उनीसँग कुल १८.५० लाख रुपैयाँ (६ हजार १०० डलर ) ऋण लागेको थियो ।

उनले भने, ‘अहिले म यो ऋण तिर्न ग्यारेजमा दिनरात काम गर्छु, ब्याज तिर्न हामीले हाम्रा दुवै विवाहको औंठी धितो राखेका छौं।’

-  बीबीसी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका