३१ बैशाख २०८१, सोमबार

ताजा खबर

बालेन शाहले १ अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्धा

नागरिक पोष्ट

बुधबार, २१ चैत्र २०८०

2517 views

2517 views

बालेन शाहले १ अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्धा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाकै एक कर्मचारीविरुद्ध साइबर अपराधमा मुद्धा चलाइएको छ । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्धा दायर हुनेमा ताप्लेजुङको मौवाखोला गाउँपालिका(१ घर भइ काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेल छन् ।


पौडेलले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको भन्दै लेखेको आरोप छ । झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै मेयर बालेनको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

सामाजिक सञ्जालमा लेखेको आरोप लागेका पौडेल विगत २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा रहेर काम गर्दै आएका थिए । सोही क्रममा उनी १६ पुस २०८० मा निलम्बनमा परेका थिए ।

महानगरपालिकाले निलम्बन गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए । त्यसपछि कर्मचारी पौडेल र मेयरबीच द्वन्द्व सुरु भएको थियो ।

पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरुले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरबासीले तिरेको कर हो’ लेखेका थिए ।

साइबर अपराधको मुद्धा चलाइएका पौडेल यसअघि झुटा विवरण राखेर नागरिकता र राहदानी लिएको कसुरमा दोषी ठहर भएका थिए । काठमाडौं जिल्ला अदालतले ५ माघ २०७७ मा उनीविरुद्ध २५ हजार जरिवाना सुनाएको थियो ।

पौडेल फरार रहेकाले नभेटिएको भन्दै उनलाई फरार प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका