नागरिक पोष्ट
मंगलवार, १७ मंसिर २०८२
732 views
732 views
ललितपुर, १६ मंसिर। ललितपुरको पाटनमा भोलि (मंसिर १७) देखि ‘कला तथा संस्कृति महोत्सव–२०८२’ आयोजना हुने भएको छ ।नेपाली कला, संस्कृति र परम्परागत हस्तकला वस्तुको प्रचार–प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिका वडा नम्बर १६ र पाटन संग्रहालयको संयुक्त आयोजनामा उक्त महोत्सव हुन लागेको हो ।
महोत्सवका अवसरमा पाटन दरबार स्क्वायर क्षेत्र र पाटन संग्रहालय परिसरमा हस्तकला प्रदर्शनी आयोजना गरिने हस्तकला महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महोत्सवका अवसरमा ललितपुर–१६ को हस्तकला प्रवर्द्धन समितिबाट बुद्ध धर्म अनुसार दश कर्ममा प्रयोग हुने गरगहना, जातीय पोशाक प्रदर्शनी गरिनेछ भने सोही वडाको सांस्कृतिक समितिबाट शास्त्रीय संगीत, चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्य तथा नेवारी धाः बाजा, दमोखिँ बाजा र नेपाल भाषाका लोकगीत प्रस्तुत गरिने कार्यक्रम छ ।
महोत्सवका क्रममा महासंघले कोरियास्थित आईएमएसीओको सहकार्यमा आयोजना गर्न लागेको मुखौटा प्रदर्शनी गर्दैछ । उक्त प्रदर्शनीमा नेपालका ६० ओटा र दक्षिण कोरियाका ४० ओटासहित १०० हस्तनिर्मित मुखौटा प्रदर्शन हुनेछन् ।