नागरिक पोष्ट
सोमबार, १६ मंसिर २०८२
987 views
987 views
काठमाडौं– नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘स्याडो पिक्चर्स’ कम्पनीले अब अन्तर्राष्ट्रिय फिल्म बजारमा पनि आफ्नो प्रभावशाली उपस्थिति बनाउन सफल भएको छ ।
नेपाली चलचित्र ‘आउटल दफा २१९’ को निर्माण कम्पनीका रूपमा परिचित यो कम्पनीले बलिउडको बहुप्रतिक्षित फिल्म ‘धुरन्धर’ को नेपाल वितरण अधिकार प्राप्त गरेको छ ।
योसँगै जियो स्टुडियोजले स्याडो पिक्चर्सलाई आफ्नो आधिकारिक बिक्रेता तथा वितरण साझेदारको रूपमा मान्यता प्रदान गरेको छ, जसलाई नेपाली चलचित्र क्षेत्रका लागि ठूलो उपलब्धि मान्न सकिन्छ । स्याडो पिक्चर्सले भारतको मुम्बईमा पनि आफ्नो शाखा विस्तार गरेको छ ।
स्याडो पिक्चर्स र जियो स्टुडियोजबीचको यो सहकार्यले नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली फिल्महरूका लागि नयाँ ढोका खुला गरेको छ ।
जियोको विश्वव्यापी ओटिटी प्लेटफर्ममा अब नेपाली चलचित्रहरू पुग्ने उच्च सम्भावना देखिएको छ, जसले नेपाली चलचित्रलाई विश्वभरका दर्शकसम्म पुर्याउने कम्पनीका डाइरेक्टर अफ बिजनेश डिभलपमेन्ट अरुण रिजालले विश्वास लिएका छन् ।
जियो स्टुडियोजसँगको साझेदारी र विदेशी ठूलो बजेटका चलचित्रको आधिकारिक वितरण अधिकार प्राप्त गर्नु स्वयं नेपाली कम्पनीका लागि महत्त्वपूर्ण सफलता हो । यसले नेपाली चलचित्र बजारमा विश्वस्तरको व्यावसायिकता र अवसर भित्र्याउने अपेक्षा गरिएको छ ।
श्याडो पिक्चर्सको यो कदमले नेपाली चलचित्र बजारलाई ग्लोबल वन–स्ट्रिममा लैजाने सम्भावना बढाएको अध्यक्ष अमित अग्रहरीले बताए । बलिउडका मल्टी स्टारकास्ट कलाकारहरू रहेको एक्सन(थ्रिलर फिल्म ‘धुरन्धर’ डिसेम्बर ५ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ ।
आदित्य धरको निर्देशनमा बनेको यो फिल्ममा रणवीर सिंह, सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारहरूको अभिनय छ ।
‘धुरन्धर’ले दर्शकलाई फरक र स्तरीय अनुभव दिने विश्वास लिइएको छ ।