नागरिक पोष्ट
सोमबार, २ मंसिर २०८२
6376 views
6376 views
काठमाडौँमा भेटघाट कार्यक्रम सम्पन्न, निर्माता उप्रेतीद्वारा नारी शक्तिको कथा प्रस्तुत गरेको दाब
काठमाण्डौँ। महिलाले लेखेको र समाजको यथार्थपरक कथावस्तुमा आधारित लोकप्रिय सिरियल 'दियो' को २५ औं भाग सफलतापूर्वक सम्पन्न भएको अवसरमा काठमाण्डौँमा एक विशेष कलाकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकारहरूले सिरियलको सफलताप्रति खुसी व्यक्त गर्दै 'दियो' ले दिन खोजेको सन्देश सकारात्मक र समाजोपयोगी रहेको बताए। कलाकारहरूले सिरियलको पात्रमा आफूहरू सकारात्मक वा नकारात्मक जुनसुकै भूमिकामा रहे पनि कथावस्तुले सकारात्मक सन्देश दिएकोमा आफूहरू यस सिरियलसँग जोडिन पाएकोमा गौरवान्वित भएको धारणा राखे।
निर्माता पद्मा उप्रेतीको भनाइ:
सिरियलकी निर्माता पद्मा उप्रेतीले यो सिरियल बनाउनुको मुख्य उद्देश्य समाजमा आफूले देखेका र सुनेका घटनाहरूलाई पर्दामा उतार्नु रहेको बताउनुभयो। उहाँले 'दियो' मार्फत एक नारीले आफ्नो परिवारको लागि के-कति गर्न सक्छे भन्ने सकारात्मक सन्देश प्रवाह गर्नु प्रमुख लक्ष्य रहेको उल्लेख गर्नुभयो।
निर्देशक श्रीकृष्ण थापाको भनाइ:
निर्देशक श्रीकृष्ण थापाले यो एक महिलाले लेखेको समाजको यथार्थमा आधारित सिरियल भएकाले यसको निर्देशन गर्न आफूलाई मन लागेको बताउनुभयो। उहाँले यो सिरियल आजभन्दा करिब ५० वर्ष अगाडिको कथामा आधारित भएकाले त्यस बेलाको अवस्था र समाजको वस्तुस्थिति देखाउनु चुनौतीपूर्ण रहेको स्वीकार गर्नुभयो। तथापि, उहाँले त्यो बेलाको समाजको अवस्थालाई कथा मार्फत चित्रण गरिएको हुनाले आजको पुस्तालाई जानकारी नहुन सक्ने भन्दै सबै नेपालीले यो सिरियल हेर्नैपर्ने आग्रह गर्नुभयो।
युवा अभियान्ता तथा समाजसेवी पुष्कर राज पाण्डेले 'दियो' सिरियलले सबैको घरमा 'दियो' बाल्ने काम गरेको र समाजको यथार्थलाई चित्रण गरी पर्दामा उतारेकाले यो एक पारिवारिक सिरियल बनेको बताउनुभयो। उहाँले सिरियलको २५ भाग मात्र होइन, लाखौँ भागको भेटघाट कार्यक्रम मनाउन सफल रहोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो।
त्यस्तै, गायक, नायक तथा समाजसेवी सुधिर राज श्रेष्ठले पनि 'दियो' सिरियललाई सबैले माया गरेर हेर्न आग्रह गर्नुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई पत्रकार तथा समाजसेवी सावित्री बस्नेत 'सबु' ले सहजीकरण गर्नुभएको थियो।