नागरिक पोष्ट
शुक्रबार, २२ कार्तिक २०८२
1157 views
1157 views
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले निर्वाचनलगत्तै पार्टीको पहिलो महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
उनले यो प्रस्ताव शुक्रबारदेखि चितवनको सौराहामा सुरू भएको केन्द्रीय समितिको विस्तारित बैठकमा प्रस्तुत गरेका हुन्।
विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले भनेका छन, ‘फागुनमा चुनाव भए लगत्तै महाधिवेशन गर्ने योजनामा यस विस्तारित बैठकले केन्द्रीय समितिलाई मूर्त र व्यावहारिक सुझाव दिने मेरो अपेक्षा छ।’
प्रतिवेदनमा अगाडि भनिएको छ,‘महाधिवेशनको निर्देशनले नै हामीलाई राष्ट्रिय राजनीतिमा अझ परिपक्क र जिम्मेवार शक्तिका रुपमा स्थापित गर्न मद्दत गर्छ। परिस्कृत नीति विचार र निर्वाचित नेतृत्वको आगमनले पार्टीलाई गतिशील बनाउँछ । समयको मागअनुसार आफूलाई परिमार्जन गर्न सक्षम बनाउँछ। त्यसैले चुनावलगत्तै महाधिवेशन गरी पार्टीलाई थप व्यवस्थित र सुदृत प्रभावकारी बनाउन आवश्यक छ।’
पार्टीले २०८१ असोज १ र २ गते काठमाडौंमा भएको राष्ट्रिय भेलाबाट २०८२ वैशाख २५ र २७ मा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको थियो।
तर सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेल चलान भएपछि अर्को केन्द्रीय समितिले फागुन ७ देखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।
फागुनको दोस्रो साता २१ गते निर्वाचनको मिति घोषणा भएपछि रास्वको पहिलो साता महाधिवेशन गर्ने समय फेरिएको हो।