ताजा खबर

‘नास आईटी एक्सपो २०२५’ कात्तिक २१ र २२ गते, स्थानीय प्रविधि र डिजिटल उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित

नागरिक पोष्ट

आईतवार, १७ कार्तिक २०८२

1191 views

1191 views

‘नास आईटी एक्सपो २०२५’ कात्तिक २१ र २२ गते, स्थानीय प्रविधि र डिजिटल उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्विसेज कम्पनीज (नास–आईटी) ले आउँदो कात्तिक २१ र २२ गते ‘नास आईटी एक्सपो २०२५’ आयोजना गर्ने भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्सपोमा विभिन्न आईटी सफ्टवेयर, उत्पादन तथा सेवाहरूको प्रदर्शनी रहने छ । नास–आईटीका अध्यक्ष गौरव पाण्डेका अनुसार स्थानीय प्रविधि, डिजिटल उद्यमशीलता र नवीनतम आईटी अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित पहिलोपटक नास–आईटी एक्सपो आयोजना गर्न लागिएको हो ।

“एक्सपाेले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य, अवसर र आधुनिक प्रविधिको सम्भावनामा केन्द्रित हुन मद्दत गर्नेछ,” उनले आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा भने ।

त्यस्तै, उपाध्यक्ष दिपेन चापागाईंले आईटी तथा व्यवसायिक समुदायबाट प्राप्त उत्साहजनक प्रतिक्रिया एक्सपोको प्रभावकारिता र बजार सम्भावनाको सूचक भएको बताए । सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालमा डिजिटल भविष्य निर्माणमा एक्सपो ऐतिहासिक माइलस्टोन बन्ने उनको दाबी छ ।

एआई र डिजिटल रूपान्तरणमा केन्द्रित नास–आईटी एक्सपोको शीर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर ‘टिग’ (Tigg) रहेको छ । त्यसअनुसार कार्यक्रम ‘Tigg presents NAS-IT Expo 2025’ को नामबाट सञ्चालन हुनेछ। परम्परागत प्रदर्शनीभन्दा फरक बनाउँदै, यसलाई व्यवसायिक अवसर, ब्रान्ड निर्माण र सहकार्यका लागि गतिशील मञ्चको रूपमा प्रस्तुत गरिएको नास–आईटीले जनाएको छ ।

विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरण सम्बन्धी नवीनतम प्रविधिमा फोकस रहनेछ । नास–आईटीकी महासचिव एलिसा श्रेष्ठका अनुसार, "नास–आईटी एक्सपो केवल प्रदर्शनी मात्र होइन, नेपालको आईटी प्रतिभा र व्यवसायिक अवसरबीचको सेतु हो ।"

३० भन्दा बढी आईटी सेवा तथा उत्पादनको प्रदर्शनी दुई दिन चल्ने एक्सपोमा ३० भन्दा बढी आईटी सेवाहरू, सफ्टवेयर तथा डिजिटल उत्पादनहरूको प्रदर्शनी रहनेछ । अवलोकनकर्ताका लागि विशेष अफरको व्यवस्था गरिएको छ भने कम्पनीहरूले आफ्ना डिजिटल समाधानहरू सार्वजनिक प्रस्तुति र ‘पिच सेसन’ मार्फत प्रदर्शन गर्ने अवसर पाउनेछन् ।

कार्यक्रममा उद्यमी, निजी तथा सरकारी निकायका प्रमुख, नीति निर्माताहरू, लगानीकर्ता तथा सूचना–प्रविधिमा रुचि राख्ने सहभागीहरूको उपस्थिति रहनेछ। एक्सपो अवलोकन निःशुल्क रहनेछ। इच्छुकले अनलाइन टिकट eventsmo.com बाट प्राप्त गर्न सक्ने व्यवस्था छ ।

नास–आईटीबारे

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्विस कम्पनीज (NAS-IT) नेपालका आईटी कम्पनीहरूको प्रतिनिधित्व गर्ने गैर–नाफामुखी संस्था हो । यसले प्रविधि, नवप्रवर्तन, बजार पहुँच, क्षमता विकास र नेपाललाई विश्वस्तरीय प्रविधि केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?