नागरिक पोष्ट
शुक्रबार, १५ कार्तिक २०८२
1293 views
1293 views
काठमाडौं । असफल भइसकेका राजनीतिक दलहरूले आगामी निर्वाचनमा पनि गठबन्धन गरी मुलुकमा लुटतन्त्र, भ्रष्टाचार र दलीय तानाशाही प्रवृत्ति दोहोर्याउने खतरा रहेको दाबी गरिएको छ। ‘सेभ द नेशन मिडिया’ ले मंगलबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वक्ताहरूले वर्तमान सरकारले २०७२ सालको संविधान संशोधन नगरीकन आगामी फाल्गुन २१ गते निर्वाचन गराएमा फेरि उनै 'कुतत्व' हरूको राज हुने र मुलुक पुनः द्वन्द्वको सृजना भई गृहयुद्धमा होमिने चेतावनी दिएका छन्।
सनातनवादी युवराज आचार्यले वर्तमान संविधान (२०७२) लाई 'लंगडो' र राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार, दण्डहीनता तथा आपराधिक गतिविधि बढाउने कारक तत्वको रूपमा व्याख्या गरे। पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, "२०७२ सालको संविधान अनुसार कुनै एउटा राजनीतिक पार्टीले स्पष्ट रुपमा बहुमत प्राप्त गर्न नसक्ने कुरा हामी सबै माझ स्पष्ट छ। यस्तै दुर्घटना निम्त्याउने तत्वहरु मुलुकको चौतर्फि विकास नचाहने पनि स्पष्ट छ नै।"
प्रमुख माग र चेतावनी:
संविधान संशोधन अनिवार्य: २०७२ सालको संविधान पूर्ण रूपमा असफल भइसकेकाले यसलाई संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीसहित प्राचीन वैदिक सभ्यताको सनातन राष्ट्र कायम गरिए मात्र देशमा शान्ति, सद्भाव, विकास र समृद्धि हुने ठहर गरिएको छ।
सर्वदलीय सरकार गठन: राष्ट्र जोगाउन र दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सर्वदलीय/सर्वपक्षीय सरकार गठन गरी संविधान संशोधनको माग गरिएको छ।
'सनातन सिंदुर अपरेशन' को चेतावनी: यदि सर्वपक्षीय सरकार गठन गरी संविधान संशोधनमार्फत प्राचीनकालीन वैदिक सभ्यताको सनातन राष्ट्र घोषणा भएन भने 'सनातन सिंदुर अपरेशन' शुरु गरिने चेतावनी दिइएको छ। यो अपरेशन बिना रक्तपात मातृशक्तिको माध्यमबाट सनातनीहरूको रक्षाका लागि गरिने उल्लेख छ।
५१% दलद्वारा निर्वाचन बहिस्कार: निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलमध्ये ५१ प्रतिशतले बहिस्कार गरेमा तोकिएको निर्वाचन स्वतः बहिस्कार हुने अडान राखिएको छ।
शहीदलाई नमन: विज्ञप्तिमा गत भाद्र २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका 'सनातनी ऐतिहासिक शहीद' हरूलाई नमन गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
अन्य महत्वपूर्ण बुँदाहरू:
भ्रष्ट नेतामाथि कारबाही: ७६ जना सनातनीको रगतबाट होली खेल्ने र २४ सय जना घाइते बनाउने व्यक्तिहरूको प्रतिवेदन सार्वजनिक गरी उनीहरूलाई राजनीतिक तथा सामाजिक क्रियाकलापमा प्रतिबन्ध लगाउन जस्तोसुकै मूल्य चुकाउन पनि पछि नहट्ने घोषणा गरिएको छ। त्यस्ता कुपात्रलाई संरक्षण गर्ने दलमाथि पनि जनस्तरबाट प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ।
मातृशक्तिको अधिकार: आफूहरूले चाहेको व्यवस्थामा हरेक मातृशक्तिको ५१ प्रतिशत अधिकार सुनिश्चित गरिने कुरामा जोड दिइएको छ।
किराँत, मंगोल र मगर समुदायको संलग्नता: वैदिक सनातन यात्रालाई मजबुत बनाउन किराँत, मंगोल, आदिवासी तथा जनजातिका तर्फबाट शिवशक्तिधामका पिठाधीश शिवशक्ति बाबाको संलग्नताले सबै जनजातिको गौरव बढेको विश्वास व्यक्त गरिएको छ। साथै, नेपालका शक्तिपीठहरूको पहरेदार भएर सनातन सभ्यता जोगाउन अहम् भूमिका खेल्ने मगर समुदायप्रति आभार व्यक्त गरिएको छ।