नागरिक पोष्ट
आईतवार, १२ श्रावण २०८२
15658 views
15658 views
भीरकोट, नेपाल: नेपालकै पहिलो नवग्रह मन्दिर र पञ्चकन्या मन्दिर परिसरमा शनिबार एक विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमले १२ राशि र ९ ग्रहसँग सम्बन्धित वृक्षहरूको शास्त्रीय विधिपूर्वक रोपण गरी नवग्रह वाटिका स्थापनाको घोषणासँगै धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको अद्भुत संगम प्रस्तुत गरेको छ।
यो ऐतिहासिक कदम नवग्रह मन्दिर व्यवस्थापन समिति र पञ्चकन्या मन्दिर व्यवस्थापन समितिको संयुक्त समन्वयमा भीरकोट जेसीजको आयोजनामा सम्पन्न भएको हो। यसअघि नै २७ वटा नक्षत्र वृक्षहरू रोपिसकिएको जानकारी समितिका सचिव लालबहादुर क्षेत्रीले दिनुभयो।
कार्यक्रममा भीरकोट जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी शिव प्रसाद खनाल, जेसीजका पूर्व अध्यक्ष सदस्यहरू, समितिका पदाधिकारीहरू र स्थानीय भक्तजनहरूको सक्रिय सहभागिता रहेको थियो। शास्त्रीय विधिअनुसार दिशानिर्देश पालना गर्दै मन्त्रोच्चारणसहित वृक्षारोपण गरिएको थियो।
नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत पोखरेलले यस अवसरमा बोल्दै, "अब हामीले नक्षत्र, राशि र नवग्रह तीनवटै वाटिका स्थापना गरेका छौँ। हाम्रो लक्ष्य यो स्थललाई नेपालकै नमुना धार्मिक–प्राकृतिक अध्ययन केन्द्र का रूपमा स्थापित गर्नु हो।" उहाँको यो भनाइले यस पहलको दीर्घकालीन महत्त्वलाई प्रकाश पारेको छ।
यस्तै, भीरकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष तारा अर्यालले यस अभियानले भावी पुस्तालाई अध्यात्म, प्रकृति संरक्षण र संस्कारयुक्त जीवनमूल्यको गहिरो सन्देश दिने विश्वास व्यक्त गर्नुभयो।
यस कार्यक्रमलाई धार्मिक वृक्ष परम्पराको पुनर्जागरण, हरियाली अभियान र सांस्कृतिक चेतनाको अद्वितीय पहलका रूपमा हेरिएको छ। यसले धार्मिक आस्थासँगै पर्यावरण संरक्षणको महत्त्वपूर्ण सन्देश प्रवाह गरेको छ।