ताजा खबर

बैंक तथा वित्तीय संस्थाको निक्षेप ७० खर्ब नाघ्यो, लगानीयोग्य रकम थुप्रिँदै

नागरिक पोष्ट

बुधबार, ४ असार २०८२

2670 views

2670 views

बैंक तथा वित्तीय संस्थाको निक्षेप ७० खर्ब नाघ्यो, लगानीयोग्य रकम थुप्रिँदै

काठमाडाैं, ४ असार । नेपालका बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप पहिलो पटक ७० खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आइतबारसम्म बैंकिङ प्रणालीमा कुल ७० खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ, जुन हालसम्मकै उच्च हो। गत शनिबारसम्म यो आँकडा ६९ खर्ब ९८ अर्ब रुपैयाँ थियो।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा कुल ६२ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप रहेको छ। एक दिनमै वाणिज्य बैंकहरूमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। गत शनिबारसम्म भने वाणिज्य बैंकहरूसँग कुल ६२ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो। अन्य वित्तीय कम्पनीहरूसँग पनि ७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप रहेको छ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थपिने क्रम जारी रहे पनि कर्जाको माग भने न्यून नै छ। कर्जाको माग कम भएका कारण नै बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएर बसेको अवस्था छ।

७० खर्बभन्दा बढी निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाहरूले कुल ५५ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। पछिल्लो एक दिनमा बैंकहरूको कर्जा प्रवाह ४ अर्बले बढेको देखिन्छ। गत शनिबारसम्म यो तथ्यांक ५५ खर्ब ६४ अर्ब रुपैयाँ रहेको थियो। वाणिज्य बैंकहरूले मात्रै ४९ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने वित्तीय कम्पनीहरूले ६ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

बैंकहरूबीच आन्तरिक रूपमा हुने कारोबार अर्थात् अन्तरबैंक सापटीको ब्याजदर पनि घट्दो क्रममा छ। बैंकहरूमा तरलता सहज हुँदै गएपछि अन्तरबैंक कारोबारको ब्याजदर पनि घट्दै गएको हो। हाल यस्तो ब्याजदर ३ प्रतिशत कायम भएको छ।

यसैगरी, बैंकहरूको अधिक तरलताका कारण कर्जा निक्षेप अनुपात (सीडी) रेसियो पनि निरन्तर घट्दै गएको छ। कर्जाको माग नभएपछि बैंकहरूको सीडी रेसियो पनि ८० प्रतिशतभन्दा कम बिन्दुमा झरेको छ। राष्ट्र बैंकका अनुसार हाल सीडी रेसियो ७८.४० प्रतिशत कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?