आईतवार, २६ जेष्ठ २०८२
4880 views
4880 views
काठमाडौं । एन्जल्स हर्ट नेसनल स्कूलले आज एक विशेष कार्यक्रमको आयोजना गरी हालै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च राख्न सफल आफ्ना विद्यार्थी खेलाडीहरूलाई सम्मान गरेको छ। स्कूलको प्राङ्गणमा आयोजित खेलाडी सम्मान कार्यक्रममा प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरू एरिका गुरूङ, एनोज महर्जन, करिना पुरी र मनिषा रानाभाटलाई सम्मान पत्रद्वारा सम्मानित गरे।
विद्यालयका प्रिन्सिपल तथा कार्यक्रमका सभापति टक बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका सचिव तथा नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ र नेपाल करातें महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण के सि विशेष अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर महर्जनले खेलाडीहरूले देशको गौरव बढाएकोमा खुसी व्यक्त गर्दै उनीहरुको उज्ज्वल भविष्यको कामना गरे। विशेष अतिथिहरूले पनि खेलाडीहरूको लगनशीलता र सफलताको प्रशंसा गर्दै आगामी दिनमा अझै उत्कृष्ट प्रदर्शन गर्न हौसला प्रदान गरे।
यसैबीच, एन्जल्स हर्ट नेशनल स्कूलका प्रशिक्षक तथा एसियन कराते रेफ्रि महेश महर्जनले सम्मानित खेलाडीहरूलाई व्यक्तिगत नगद पुरस्कार प्रदान गरे। साथै, एसियन गोजुरियो करातेको रेफ्रि कमिसनको अध्यक्षमा चयन हुनुभएकोमा रवि शाहिलाई पनि विशेष सम्मान गरिएको थियो। कार्यक्रमको संयोजन विद्यालयका शिक्षक सुमन तिम्लसिनाले गरेका थिए।
सम्मानित हुने खेलाडीहरूमध्ये एरिका गुरूङले विश्व कराते महासंघको आयोजनामा मोरक्कोमा मे ३० र जुन १, २०२५ मा सम्पन्न भएको कराते प्रिमियर लिगमा नेपालको लागि कास्य पदक जितेकी थिइन्। त्यसैगरी, श्रीलंकामा मे २४ र २५, २०२५ मा सम्पन्न भएको नवौं एसियन गोजुरियो कराते प्रतियोगितामा एनोज महर्जनले सिनियर व्यक्तिगत काता विधामा स्वर्ण, करिना पुरीले सिनियर कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा स्वर्ण र मनिषा रानाभाटले ६१ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका थिए।
विद्यालयले आयोजना गरेको यो सम्मान कार्यक्रमले खेलाडीहरूलाई थप हौसला मिलेको र आगामी दिनमा उनीहरूले अझै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।