शुक्रबार, ३ जेष्ठ २०८२
1684 views
1684 views
काठमाडौं, २ जेष्ठ । आइसिटी पत्रकार विकास मञ्चको आयोजना तथा नेपाल आयल निगमको सहकार्यमा ‘ग्यास समस्या, जानकारी र समाधान’ विषयक एक महत्वपूर्ण चेतनामूलक कार्यक्रम मंगलबार सामाखुसीमा भव्यताका साथ सम्पन्न भएको छ। ग्यासको सुरक्षित प्रयोग, आपूर्ति व्यवस्थापन र सम्भावित जोखिम न्यूनीकरणका उपायहरूबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नीति निर्माण तहका व्यक्तित्व, नियामक निकायका प्रतिनिधि, विषय विज्ञ, उपभोक्ता अधिकारकर्मी, उद्यमी तथा सचेत नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रम आइसिटी पत्रकार विकास मञ्चका कार्यकारी अध्यक्ष पुष्कर राज पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले स्थानीय सरकार नागरिकको सुरक्षा र सचेतनाप्रति प्रतिबद्ध रहेको बताउँदै यस्ता जनहितकारी कार्यक्रमहरूमा सधैं सहकार्य गर्न तयार रहेको उल्लेख गरे। ग्यास जस्तो अत्यावश्यक वस्तुको सुरक्षित प्रयोगबारे जानकारी हरेक नागरिकसम्म पुग्नुपर्नेमा जोड उनले दिए।
कार्यक्रमका विशेष अतिथि, नेपाल आयल निगमका ई. सुमन पुडासैनीले निगम उपभोक्ता हित र सहज सेवा प्रवाहमा संवेदनशील रहेको बताउँदै गुणस्तरीय र सुरक्षित ग्यास उपलब्ध गराउन प्रतिबद्ध रहेको धारणा व्यक्त गरे। उनले यस्ता कार्यक्रमले उपभोक्ता र निगमबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
नेपाल प्रहरी विपद् व्यवस्थापन महाशाखा, सामाखुशीका प्रहरी नायब उपरीक्षक रामकुमार डानीले विपद् जोखिम न्यूनीकरणमा नागरिक सचेतनाको महत्व दर्शाउँदै विपद् पूर्वसूचना र तयारीले ठूलो क्षति हुनबाट जोगाउने बताए। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्ताले आफ्नो अधिकार र वस्तुको सुरक्षित प्रयोग विधिबारे जानकारी राख्नुपर्नेमा जोड दिए।
त्यस्तै ग्यास विक्र्रेता महासँघका निवर्तमान अध्यक्ष चन्द्र थापाले उपभोक्ताहरु र ग्यास व्यवसायिहरु ग्यासको बारेमा जानकार छ की छैन वा विक्रेताहरु ग्यास सँग सम्बन्धीत कुराहरुमा जिम्मेवार छ की छैन प्लाष्टिकका पाईप प्रयोग गर्नु हुदैन तर जानेर नजानेर प्रयोग भई रहेके छ । यस्ता सामान्य कुराहरुमा यपभोक्ताहरुलाई जानकारी गराउन यो कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।
त्यसैगरी, समाजसेवी तथा अभिभावक संघका केन्द्रीय सदस्य गोविन्द भुसालले यस्ता कार्यक्रमको निरन्तरताको हुनु पर्नेमा जोड दिए । चेतना महिला विद्यालयकी शान्ता पण्डितले महिलाहरूलाई यस्ता जीवनोपयोगी तालिमले सशक्त बनाउने विचार राखिन्।
कार्यक्रममा टोखा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मचा काजी महर्जन, वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरे, वरिष्ठ पत्रकार श्री राम पुडासैनी, पूर्व परराष्ट्रविद् यादव कोइराला, समाजसेवी हरि सुवेदी, युवा कृषि उद्यमी दीपक न्यौपाने, पूर्व प्रधानाध्यापक केशव राज पाण्डे, समाजसेवी टेक नारायण सापकोटा, आइसिटी पत्रकार विकास मञ्चका सचिव कृष्ण राज तिमल्सिना लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। विशेषगरी सामाखुशी क्षेत्रका होटल व्यवसायी र महिलाहरूको बाक्लो उपस्थिति प्रशंसनीय रहेको थियो।
कार्यक्रममा नेपाल प्रहरी विपद् व्यवस्थापन महाशाखाको टोलीद्वारा ग्यास सिलिन्डर सुरक्षित तरिकाले प्रयोग गर्ने, ग्यास लिक भएमा अपनाउनुपर्ने सावधानी र आगलागी नियन्त्रणका उपायहरू बारे व्यवहारिक डेमो तालिमसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रमको प्रारम्भमा आइसिटी पत्रकार विकास मञ्चकी कार्यक्रम संयोजक सावित्री बस्नेतले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो।
त्यस्तै सभापतिले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आइसिटी पत्रकार विकास मञ्चले आगामी दिनमा यस्ता चेतनामूलक कार्यक्रमहरूलाई देशका अन्य भागहरूमा पनि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। सहभागीहरूले कार्यक्रम अत्यन्तै प्रभावकारी र उपयोगी भएको बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिएका थिए।