नागरिक पोष्ट
आईतवार, १४ बैशाख २०८२
15981 views
15981 views
रौतहट, गौर – सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटले आफ्नो १८औं स्थापना दिवस–२०८२ को अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
सो कार्यक्रम आज गण परिसरभित्र आयोजित गरिएको हो, जसमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कार्यालय गौर, रौतहटको समन्वय र सहकार्यमा सफलतापूर्वक सम्पन्न भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
रक्तदान कार्यक्रममा रौतहट जिल्लामा कार्यरत सशस्त्र प्रहरी बलका २८ जना सुरक्षाकर्मीहरूले सक्रिय सहभागिता जनाउँदै रक्तदान गरेका थिए। कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूले मानव सेवाका निम्ति आफ्नो सानो प्रयासले जीवन बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटका प्रमुखले कार्यक्रमको सफलतामा रेडक्रस सोसाइटीलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर लागिरहने प्रतिबद्धता जनाए।
स्थापना दिवसको अवसरमा रक्तदान जस्तो मानवसेवा मूलक कार्यले सुरक्षाकर्मीहरूको सामाजिक चेतना र समर्पण झल्किएको स्थानीयवासीहरूले बताएका छन्। कार्यक्रममा सुरक्षाकर्मीहरूको उत्साहजनक सहभागिता तथा सहकार्यले यसलाई सफल बनाएको हो।
उक्त रक्तदान कार्यक्रमले "रक्तदान, जीवनदान" भन्ने नारालाई सार्थक तुल्याएको र भविष्यमा समेत यस्ता कार्यहरूलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।