नागरिक पोष्ट
शनिबार, २९ चैत्र २०८१
2806 views
2806 views
नुवाकोट। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले नदी तथा खोलाले कटान गरेका खेतीयोग्य क्षेत्रको संरक्षण गरेर किसानलाई भूमिहीन हुनबाट जोगाउन लागेको बताएका छन् ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ मा शुक्रबारदेखि सुरू भएको ‘जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले नदी र खोलाको बहावको कारण क्षति पुगेका तथा बगर बनेका भूमिको संरक्षण गरेर किसानलाई न्याय दिन लागिएको बताए ।
बागमती प्रदेशभित्रका केही जिल्लामा नमूना योजनाको रूपमा यो वर्षदेखि सुरू गर्न लागिएको यस योजनाको लागि ३० करोड बजेट उपलब्ध गराइएको उनले जानकारी दिए ।
‘प्रदेशभित्रका नदी र खोलाले प्रभावित बनाएका जिल्लामा एकैसाथ कार्यक्रम सञ्चालनको योजना बनाए पनि समपुरक अन्तर्गत माग गरिएअनुसार केन्द्र सरकारबाट बजेट नपाएकाले सीमित स्रोतले नमूना योजनाको रूपमा सुरू गर्न लागिएको छ ।’
उनले भने, ‘नुवाकोटको ताँदी र लिखु खोलाको कटान नियन्त्रण गर्दै क्षति पुगेका र बगरमा परिणत भएका जग्गा संरक्षण गरेर पीडित बनेका किसानलाई राहत दिनेछौँ ।’ नुवाकोटमा नमूनाको रूपमा सुरू हुने उक्त कार्यक्रमले यहाँको लिखु र ताँदी खोलाले क्षति पुर्याएकामध्ये २८ हजार रोपनी जग्गाको संरक्षण गरिने लक्ष्य छ ।
खोला र नदी किनारको जग्गा उर्भरयुक्त भूमि हुने र उक्त स्थानमा सिँचाइ सहितको सरल सुविधाले कृषि उब्जनी वृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरे । उनले खेल क्षेत्रको विकास, पूर्वाधारको निर्माण र नयाँ खेलाडी उत्पादनको लागि अवसरको रूपमा लिनुपर्ने बताए ।
नुवाकोटका बाह्र स्थानीयतहको सहभागितामा ऐतिहासिक पर्यटकीय क्षेत्र घ्याङस्वारमा शुक्रबारदेखि सुरू भएको प्रतियोगिता आगामी सोमबारसम्म चल्ने आयोजक पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए ।