ताजा खबर

फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस एनसेल नेपाल सुपर लिग २०२५ का लागि नेपाल आउँदै

नागरिक पोष्ट

शनिबार, २९ चैत्र २०८१

5781 views

5781 views

फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस एनसेल नेपाल सुपर लिग २०२५ का लागि नेपाल आउँदै

काठमाडाैं । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रा.लि. ले विश्व प्रसिद्ध ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस २०७२ सालको एनसेल नेपाल सुपर लिगको विशेष अतिथिका रूपमा अप्रिल १८, २०२५ मा काठमाडौं आउने जानकारी दिएको छ।

विश्व फुटबल इतिहासका उत्कृष्ट लेफ्ट-ब्याकमध्ये एक मानिने कार्लोसले रियल म्याड्रिड र ब्राजिल राष्ट्रिय टोलीका लागि ऐतिहासिक सफलता हात पारेका थिए। उनी अप्रिल १९, २०२५ मा दशरथ रंगशालामा हुने “Q1” खेलका प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

यो भ्रमण नेपाली फुटबलका लागि ऐतिहासिक मानिएको छ, जसले अन्तर्राष्ट्रिय ध्यान तान्नुका साथै घरेलु लिगको प्रतिष्ठा थप उचो बनाउने अपेक्षा गरिएको छ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले भने, “विश्व फुटबलका एक महान् हस्तिलाई नेपालमा स्वागत गर्न पाउँदा हामी अत्यन्त गर्वित र सम्मानित महसुस गरिरहेका छौं। उहाँको आगमन नेपाली फुटबल समुदायका लागि प्रेरणादायी हुनेछ।”

रोबर्टो कार्लोसको उपस्थिति मात्र Q1 खेलमा सीमित हुने छैन। अप्रिल १८ र १९ का लागि अन्य विभिन्न कार्यक्रमहरू पनि आयोजना हुने जनाइएको छ। समर्थक र सञ्चारकर्मीहरूलाई थप जानकारीको लागि प्रतिक्षा गर्न आग्रह गरिएको छ।

एनसेल नेपाल सुपर लिग २०२५ ले नेपाली फुटबलको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। कार्लोसको आगमन यस लिगको बढ्दो लोकप्रियता र नेपालमा फुटबलको प्रवर्द्धनप्रतिको प्रतिबद्धताको प्रमाण हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?