३ जेष्ठ २०८२, शुक्रबार
ताजा खबर

नेप्सेमा बजार बन्द हुँदाको मूल्य किन भइरहेछ तलमाथि ?

नागरिक पोष्ट

शुक्रबार, २८ चैत्र २०८१

1514 views

1514 views

नेप्सेमा बजार बन्द हुँदाको मूल्य किन भइरहेछ तलमाथि ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्लो समय अन्तिम मूल्य (क्लोजिङ प्राइज) फरक परिरहेको छ । नेप्से ३ बजे बन्द हुन्छ । तर नेप्सेको साइडमा ३ बजे हेर्दा बजार बढिरहेको देखिएता पनि १५/२० मिनेटपछि हेर्दा घटेको देखिन्छ ।

मंगलबार त्यस्तै भएको थियो । बजार बन्द हुँदा साइडमा बजार १ भन्दा बढी अंकले घटिरहेको थियो । तर, केही समयपछि हेर्दा भने नेप्से ३ अंक भन्दा बढीले घटेको देखियो ।


बुधबार पनि त्यस्तै भयो । बुधबार नेप्से बन्द हुँदा ३ बजे भने १३ अंकले बजार बढेको थियो भने करिब ३ः१८ बजेतिर हेर्दा भने ९ अंकले मात्र बढेको देखियो ।

बिहीबार पनि त्यस्तै भयो । बिहीबार ३ बजे ८ अंकले घटेको बजार आधा घण्टापछि हेर्दा ५ अंकले घटेको देखियो । सोही विषयलाई लिएर लगानीकर्ता नवराज दाहालले सामाजिक सञ्चालमार्फत बजार बन्द हुने ३ बजे भएपनि नेप्से घटेबढेको नतिजा हेर्न आधा घण्टा पर्खिनु पर्ने अवस्था आयो हैन त ? भन्दै प्रश्न गरे ।


‘सिस्टममा सेट गरेर तुरुन्त समायोजन हुने विधि अपनाउन त नियामक निकायमा बुद्धि विवेक भएका मान्छे चाहिन्छ जुन अहिले उपलब्ध छैनन् .. धन्यवाद ।’, उनले नियामकिय निकायलाई भने ।

नेप्सेमा यस्तो भएको यो पहिलो पटक भने होइन । नेप्सेले अन्तिम १५ मिनेटमा भएको कारोबारलाई एभरेजिङ गरेर मूल्य निर्धारण गर्न लागु गरेदेखिनै यस्तो भइरहेको छ ।

नेप्सेको स्टिमले सबै डाटाहरू लिएर त्यसलाई एभरेजिङ गराउन समय लाग्ने भएकाले गर्दा त्यस्तो भएको नेप्सेका प्रवक्ता मुरहारी पराजुली बताउँछन् ।

परीक्षण गर्दा ७ देखि ११ मिनेटसम्म लागेको थियो तर अहिले कार्यान्वयनमा जाँदा १५ देखि २० मिनेट लागेको पराजुली बताउँछन् ।

‘कम्प्युटर खोल्दा कहिले एकैछिनमा खुल्छ कहिले अलिकति समय लिन्छ त्यस्तै हो । समय चाहिँ लिन्छ यसले तर हामीले सोचेको भन्दा बढी लिएको छ’, पराजुलीले भने, ‘शून्य समय भन्ने त हुँदैन । संसारमा कतै पनि बजार बन्द हुनेबित्तिकै त आउँदैन । तर, १५ मिनेट भन्दा बढी समय लिन्छ भन्ने हामीले अनुमान गरेका थिएनौँ ।’

सिस्टमले विभिन्न डाटाहरू लिएर एभरेजिङ गराउनु पर्ने भएकाले त्यस्तो भएको पराजुली बताउँछन् । ‘३१७ वटा कम्पनीको कारोबार भयो । २ः४५ देखि ३ बजेसम्मको कति वटा कारोबार कति क्वानटीटीको भएको छ’, पराजुलीले भने, ‘त्यो सबै स्टमले तान्नु पर्‍यो । त्यसलाई एभरेजिङ गर्दा समय लाग्ने हो ।’

सिस्टम बढी क्षमताको ल्याएपनि त्यस्तै हुने पराजुली बताउँछन् । यो समस्यालाई ८ मिनेट १० मिनेटमा झार्न सकिएला तर शून्य गर्न भने नसकिने पराजुली बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?