शुक्रबार, २८ चैत्र २०८१
1174 views
1174 views
वर्षासँगै आएको हावाहुरीले गहुँका बालाहरू लडाएको र खेतमा पानी जमेकाले अन्न कुहिन थालेको किसानहरूले बताएका छन्। यसले गर्दा उनीहरूमा गम्भीर चिन्ता र निराशा छाएको छ।
अहिलेको मौसममा फुल लग्ने समय भए पनि हावाहुरीका कारण आम, लिच्ची, कथाल जस्ता फलफूलका बोटमा फुल झरेको र फलफूल उत्पादनमा समेत ठूलो क्षति पुगेको जनाइएको छ। किसानहरूका अनुसार वर्षभरि गरेको मेहनत बेमौसमी वर्षाले खेर गएको छ।
यस वर्ष बर्खाको समयमा आएको बाढीले पहिल्यै क्षति पुर्याएको थियो भने हालको वर्षाले गहुँ र दलहन बाली तहसनहस बनाइदिएको छ। यसले गर्दा किसानहरू दोहोरो समस्यामा परेका छन्। खेतमा रहेको बाँकी बाली समेत अहिलेको वर्षाले डुबानमा परेर बिग्रने खतरा बढेको छ।
किसानहरूले सरकारसँग उचित राहत, क्षतिको मूल्याङ्कन तथा क्षतिपूर्तिको माग गरेका छन्। साथै, दीर्घकालीन योजनाको खाँचो महसुस गरिँदै आएको छ जसले भविष्यमा यस्ता प्राकृतिक प्रकोपहरूबाट किसानलाई जोगाउन सकोस्।
विशेषज्ञहरूका अनुसार बाली बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै मौसमको सही पूर्वानुमान समयमै किसानहरूसम्म पुर्याउन सकियो भने यस्ता जोखिम न्यूनीकरण गर्न सकिनेछ।