नागरिक पोष्ट
शुक्रबार, २८ चैत्र २०८१
7107 views
7107 views
नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल बनाउने लक्ष्यसहित धार्मिक पर्यटन प्रवर्द्धन तथा अधूरो कल्पेश्वर महादेव मूर्तिको निर्माण सम्पन्न गर्न महायज्ञ आयोजना गर्न लागिएको हो।
महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा वडा नं ८ का वडाध्यक्ष जनक खत्रीका अनुसार, महायज्ञका तयारीहरू तीव्र रूपमा अघि बढाइएका छन् र निरन्तर सरोकारवालाहरूसँग समन्वय भइरहेको छ।
कलमसी कालिका कल्पेश्वर धाम नामले चिनिने उक्त क्षेत्रको केन्द्रमा निर्माणाधीन बसेको शिवको १०८ फिट अग्लो मूर्ति, नाग कुण्ड, गोसाइकुण्ड, २७ धारा, नारायण कुण्डलगायतका संरचनाहरू मध्ये शिव मूर्तिको कम्मरसम्मको भाग निर्माण भइसकेको छ भने त्यस माथिको भाग निर्माण बाँकी रहेको छ। यही अपूरो संरचना पूर्ण गर्न महायज्ञबाट सहयोग संकलन गरिनेछ।
काभ्रेको नाला, बनेपा, धुलिखेलसम्मको दृश्य अवलोकन गर्न सकिने यो क्षेत्र चाँगुनारायण नगरपालिका–८ र ९ तथा बनेपा नगरपालिका–१ को संगमस्थलमा पर्छ। यो क्षेत्रलाई भविष्यमा धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना रहेको वडाध्यक्ष खत्रीले जानकारी दिए।
उहाँका अनुसार, १०८ फिट अग्लो महादेवको मूर्तिलाई १००८ शिवलिङ्गले घेरिने छ, र महायज्ञबाट संकलित सम्पूर्ण रकम सोही निर्माणमा खर्च गरिनेछ।
"महायज्ञको सञ्चालनमा आवश्यक खर्च स्थानीय स्रोतबाट व्यहोर्नेछौं, तर मूर्ति निर्माणका लागि संकलित एक पैसा पनि अन्यत्र खर्च नगर्ने" वडाध्यक्ष खत्रीको भनाइ छ।
नेपालमै सबैभन्दा ठूलो बसेको शिव मूर्ति निर्माणमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको आयोजक पक्षको भनाइ छ। यो धार्मिक प्रयास सनातन धर्मको संरक्षण तथा प्रवर्द्धनमा एउटा महत्वपूर्ण योगदान बन्ने विश्वास गरिएको छ।