२ जेष्ठ २०८२, बिहीबार
ताजा खबर

बिमा प्राधिकरण अध्यक्ष ओझाको योग्यताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश

नागरिक पोष्ट

बुधबार, १९ चैत्र २०८१

1514 views

1514 views

बिमा प्राधिकरण अध्यक्ष ओझाको योग्यताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश

काठमाडौं, २० चैत्र । नेपाल बिमा प्राधिकरणका अध्यक्षमा नियुक्त शरद ओझाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश गर्न अस्वीकार गरेको छ ।

चैत १७ गते अधिवक्ता इन्दिरा धमलाले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । प्राधिकरण अध्यक्षका लागि तोकिएको योग्यता अपुग रहँदा रहँदै ओझालाई सरकारले अध्यक्षमा नियुक्त गरेको भन्दै उक्त नियुक्ती बदरको माग रिटमा गरिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल बिमा प्राधिकरण सञ्‍चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई बिपक्षी बनाउँदै धमलाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

नियुक्तिको एक महिनापछि दायर रिटमा इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । फागुन १२ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । ओझा ११ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष बनेका हुन् ।

अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।

नेपाल बिमा प्राधिकरण सञ्‍चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले विभिन्न चरणमा योज्ञता परीक्षण, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि ओझासहितको नाम सरकारलाई सिफारिस गरेको थियो ।

त्यसअघि १२ आवेदकमध्ये चिरञ्जीवी चापागाईं र कमल प्रसाद रेग्मी पनि सर्टलिस्टमा परेका थिए ।

अध्यक्ष ओझाको पुर्ख्यौली डडेल्धुरास्थित कांग्रेस सभापति एवं पूर्वप्रधानमन्री शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरा हो । हाल ओझा कञ्चनपुरका स्थायी बासिन्दा हुन् ।

प्राधिकरणमा हालसम्म नियुक्त भएका अध्यक्ष मध्ये ओझा सबैभन्दा कम उमेरका हुन् । ३३ वर्षका उनी प्राधिकरणमा मात्रै नभइ हालसम्म नियामक निकायमा नियुक्ति भएका कार्यकारी प्रमुखमध्येकै कम उमेरका हुन् ।

ओझासँग सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थाकीय तहमासमेत गरी १२ वर्षको कार्य अनुभव छ । ओझा विभिन्न क्याम्पसका अध्यापक हुन् भने नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रका संस्थाका लागि विज्ञका रूपमा काम गरिसकेका छन् ।

उनीसँग नीतिगत तथा कानुनी परामर्शदाताका रुपमा कार्य गरेको समेत अनुभव छ । पर्यटन नीति २०८१ निर्माणमा संलग्न ओझाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेका छन् भने त्यसअघि पोखरा विश्वविद्यालय व्यवस्थापनमा स्नातक गरेका थिए ।

आर्थिक पत्रकारका रूपमा विभिन्न सञ्चारमाध्यममा कार्य गरेका ओझा क्लिकमान्डु डटकममा वरिष्ठ प्रबन्धक तथा विशेष संवाददाताका रुपमा कार्यरत थिए । त्यसअघि उनले हिमाल खबर पत्रिका, नेपाली टाइम्स, देश सञ्चार अनलाइन तथा प्रशासनिक मासिक काम गरेका थिए ।

ओझाले एपेक्स, राजधानी, इम्पेरियल, सायम कलेजमा व्यावसायिक वातावरण, अन्तर्राष्ट्रिय बिजनेस तथा नवप्रबर्तन विषयमा अध्यापन गर्छन् । उनी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा पर्यटन नीति तथा योजना विषय अध्यापन गराउँछन् ।

उनीसँग वित्त नीति, मौद्रिक नीति, राजस्व प्रशासन तथा अर्थतन्त्र विश्लेषणमा दख्खल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?