Nepal Khabar


स्मृति फाउन्डेशनले ज्येष्ठ नागरिकहरुका लागि आधारभूत शैक्षिक कार्यक्रम सञ्चालन

63

काठमाडौं - रतमोहन अधिकारी स्मृति फाउन्डेशनले ज्येष्ठ नागरिकहरुका लागि आधारभूत शैक्षिक कार्यक्रम सञ्चालनको शुभारम्भ गरेको छ ।

प्रतिष्ठानको ज्येष्ठ नागरिक आधारभूत तथा डिजिटल लिट्रेशी कार्यक्रम अन्तरगत ७ वटै प्रदेशमा १ वर्षे निःशुल्क कक्षा संचालन अन्तरगत मंगलबार ललितपुरको बुङ्मतिमा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शैक्षिक कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

निरक्षरताका कारण विभिन्न अवसरबाट बञ्चित ज्येष्ठ नागिरकका लागि उपयोगी हुने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ । एक वर्षे शैक्षिक कार्यक्रम मार्फत निरक्षर ज्येष्ठ नागरिकालाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी दिइने समेत प्रतिष्ठानले जानकारी दिएको छ ।

कार्यक्रममा बागमतीका मुख्यमन्त्री पाण्डेले ज्येष्ठ नागरिकलाई प्रविधिमैत्री बनाउने काम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाले जनप्रतिनिधिले कामबाट जनताको माया प्राप्त गर्नुनै ठूलो कुरा भएको जिकिर गर्नुभयो । त्यस्तै पाण्डेले भरतमोहनले थालेको वृद्धभत्ता कार्यक्रम लगाएतका धेरै कार्यक्रमले समाज रुपान्तरणको थालनी गरेको धारणा राख्नुभयो ।

प्रतिष्ठानका सदस्य लीमा अधिकारीले ज्येष्ठ नागरिकलाई प्रविधिसंग जोड्नका लागि आधारभूत शैक्षिक कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । बागमति प्रदेशबाट सुरु भएको कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरिने उहाले बताउनुभयो ।

त्यस्तै प्रतिष्ठानकी अध्यक्ष सविता अधिकारीले ज्येष्ठ नागरिकका लागि स्वर्गीय भरतमोहन अधिकारीले ल्याएको कार्यक्रमले अझै निरन्तरता पाइरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाले ज्येष्ठ नागरिकलाईलाई शिक्षित बनाउन प्रतिष्ठानले कार्यक्रम ल्याएको बताउनुभयो ।

उहाले स्वर्गीय भरतमोहनमा ज्येष्ठ नागिरकप्रति ठूलो आस्था, विश्वास र सदभाव रहेको स्मरण गर्नुभयो । कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन लगाएतका व्यक्तिहरुको सहभागीता थियो ।