Nepal Khabar


कार्तिक ३० गते नेत्रविक्रम चन्द विप्लपको नेपाल बन्द घोषणा

259

काठमाडौं । नेपाल आयल निगमले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृछि विरुद्ध नेपाल बन्दको आह्वान गरिएको छ । ओली सरकारको पालामा हिंसात्मक गतिविधि त्याग्दै शान्तिपूर्ण राजनितिमा फर्किएको नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द सहितको विरोधको कार्यक्रम सार्वजनिक गरेको हो । 

विप्लव नेतृत्वको पार्टीले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावशयक वस्तुमा मूल्यवृद्धि गरेको भन्दै बन्द आव्हान गरेको छ । आज बिहिबार जारी गरिएको प्रेस वक्तव्य अनुसार २५ कात्तिकमा दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा देशव्यापी प्रदर्शन, र २८ कात्तिकमा विहान १० देखि ११ बजेसम्म चक्काजामको घोषणा गरेको छ । त्यस्तै, २९ कात्तिकमा सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र ३० कात्तिकमा नेपाल बन्दको घोषणा गरेको हो । 

वक्तव्यमा भनिएको छ– जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गर्दै आएको छ । यसप्रकारको सरकारी दोहनलाई जनताले निरीहतापूर्वक पालना गर्नुपर्ने बाध्यता जस्तै बनेको तथ्य हाम्रो सामु छ । भर्खरै मात्र पनि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य बृद्धि गरियो । 

वक्तव्यमा अगाडी लेखिएको छ– जसअनुसार रु. ४७ मा आयात गरिने पेट्रोलियम रु. १३६ मा बिक्रि गरिने छ । विज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्रि गर्न सकिन्छ । दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ? पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिले निश्चित रुपमा यातायात लगायत आयात गरिने सबै सामानहरूको मूल्यमा पनि बृद्धि हुनेछ । भर्खरै भएको मूल्य बृद्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न विवश हुनेछन् भने अर्कोतिर त्यसको प्रभावले सार्बजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यवृद्धि हुनेछ । यसबाट नेपाली उपभोक्ता कैयौं गुणा बढी मारमा पर्नेछन् । हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहँन सक्दैन । तसर्थ सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्षमा उत्रन पार्टीका सबै जनवर्गीय सङ्गठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ । साथै जनभावनाको कदर गर्दै मूल्यबृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ।