Nepal Khabar


चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

504

काठमाडौं –  देशका चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्र प्रभावले वर्षा हुने भएको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले केही स्थानमा वर्षाको सम्भावना छ । 

अहिले देशभर सामान्यदेखि पूर्ण बदलीसहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहने भएको छ। लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ ।

त्यस्तै, लुम्बिनी तथा सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही दिनयता नियमित वर्षा भइरेको छ। जसले गर्दा पहाडी क्षेत्रमा पहिरो र खोलानालामा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।